२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

नगर प्रमुखले स्थापना गरे आमाकाे स्मृतिमा अक्षयकोष

 दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र परिवारका सदस्यले आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन्।

शैक्षिक क्षेत्रको विकास गर्दै भावी पुस्तालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले नगरप्रमुख भट्टराई र परिवारका सदस्यले विद्योदय माध्यमिक विद्यालयमा ‘गुण-लक्ष्मी-पदमकुमारी अक्षयकोष-२०८२’ स्थापना गरेका हुन्।

नगरप्रमुख भट्टराईसहित सात सन्तानकी आमा पदमकुमारीको नाममा काेष स्थापना गरिएको  हाे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहरमान राईले पहिलो चरणमा अक्षयकोषमा दुई लाख दुई हजार २२२ रूपैयाँ रकम जम्मा भएको बताए।

नगर प्रमुख भट्टराईकी आमा पदमकुमारीको गत साल विसं २०८१ कात्तिक १६ गते ८८ वर्षको उमेरमा निधन भएको थियो।

अक्षयकोष स्थापना कार्यक्रमकाे सम्बोधन गर्दै नगरप्रमुख भट्टराईले विद्यालयलाई घरपरिवारले स्थापनाकालदेखि नै सहयोग पुर्‍याउँदै आएको स्मरण गराए। संस्कार र संस्कृतिमा नाउँमा गरिने भड्किलाे प्रवृत्ति निरूत्साहित गर्न अक्षयकोष स्थापना गरेकाे उनले बताए।

स्मरणीय छ, ‘नगरप्रमुख भट्टराईका आमाबाबुले बेलाबेलामा विद्यालयलाई नि: शुल्क र सहुलियत दरमा जग्गा उपलब्ध गराएका थिए।’

अक्षयकोष स्थापना कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले नगरप्रमुख भट्टराईको खुलेर प्रशंसा गरे। ‘शिक्षा क्षेत्रको सुधार नभई सामाजिक रुपान्तरण हुँदैन। सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि अक्षयकोष आवश्यक छ। नगरप्रमुख भट्टराईकाे अनुकरणीय कार्यप्रति हामी हर्षित छाैं।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहरमान राई, प्रधानाध्यापक पेशल आचार्य र अभिभावक सङ्घका अध्यक्ष जोशीचन्द्र राईलाई चेक मार्फत हस्तान्तरण गरिएको छ। उक्त रकम सिटिजन बैंक दिक्तेल शाखामा खाता खोलेर जम्मा गरिने भएकाे छ। कोषबाट प्राप्त हुने ब्याज रकम अक्षयकोष सञ्चालक समिति र विद्यालय प्रशासनकाे सहकार्यमा पुरस्कार वितरण र शैक्षिक गतिविधि खर्चिने विद्यालयले जनाएको छ।

उक्त अक्षयकोष घोषणा कार्यक्रममा नगरउपप्रमुख विशन राई, नगरपालिकाका अन्य जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीयबासीको उल्लेखनीय  उपस्थिति रहेको थियो।

प्रकाशित: १७ कार्तिक २०८२ ११:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App