१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

उदयपुरमा धान गोड्न गएका पुरुष मृत फेला

उदयपुरको बेलका नगरपालिकामा खेतमा काम गर्न गएका एक पुरुषको दहमा डुबेर मृत्यु भएको छ। सोमबार दिउँसो धान गोड्न हिँडेका बेलका नगरपालिका-२ शान्तिनगर टोलका ५७ वर्षीय तिथे तामाङ बुधबार मृत अवस्थामा फेला परेका हुन्।

मंगलबार अबेरसम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरी खोजी थालेको थियो। खोजी गर्ने क्रममा बेलका-३ स्थित एबिसी टप्पुको खेत जाने बाटो नजिकै पानी जमेको दहमा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले परिवारलाई उद्धृत गर्दै जनाएको छ।

‘खेती गएको दुई दिनसम्म घर नआएको भन्ने हामीलाई खबर आयो, खोजी गर्दा बुधबार दिउँसो उनी मृत भेटिए,’ इप्रका रामपुरले भन्यो, ‘पानी जमेको दलदलमा भासिएर ज्यान गएको हुन सक्छ, अनुसन्धान हुँदैछ।’

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अविरल वर्षाका कारण जताततै पानी जमेको र दह बनेको अवस्थामा तामाङ झुक्किएर दलदलमा फसेको हुन सक्ने परिवारको अनुमान छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी केदारमान दोङले मृतकको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए।

उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

प्रकाशित: ४ भाद्र २०८२ २१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App