सडक डिभिजन कार्यालय हेटौंडाले वीरगञ्ज महानगरपालिकाको मुख्य सडकखण्ड विस्तार अभियान मङ्गलबारदेखि पुनः सुरु गरेको छ।
गहवामाई चौथो रथयात्रालाई सहज रूपमा सम्पन्न गराउन केही दिनका लागि स्थगित गरिएको घण्टाघर-अलखियामठ खण्डका बाँकी संरचना हटाउने कार्य पुनः थालिएको हो।
सडक डिभिजन कार्यालयका इन्जिनियर दुर्गाप्रसाद शर्माका अनुसार घण्टाघर क्षेत्रमा हाल ५ वटा डोजर प्रयोग गरेर संरचना हटाउने काम भइरहेको छ।
घण्टाघर नजिकैको ७ किलोमिटर क्षेत्रभित्रका करिब ६ सय घर भत्काइसकिएको जानकारी दिँदै उनले अब यो सडक विस्तार अभियान निरन्तर सञ्चालन हुने बताए।
वीरगञ्जको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले गत वैशाख ६ गतेदेखि अभियान अघि बढाएको थियो। पहिलो चरणमा मुख्य सडकको दायाँ-बायाँ २५-२५ मिटरभित्र पर्ने करिब १ हजार २०० संरचनाको अगाडिको भाग डोजर प्रयोग गरी हटाइएको थियो।
यसैबिच, डिभिजन कार्यालयले गत साउन २ गते सूचना जारी गरी त्रिभुवन राजपथको सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोक सडकखण्डमा सडकको केन्द्ररेखाबाट दायाँ-बायाँ २५-२५ मिटर सडक सीमा संरक्षण कार्य भइरहेको जनाएको थियो।
कार्यालयले उक्त क्षेत्रभित्र रहेका पसल तथा संरचना तुरुन्त खाली गर्न, घरभित्र नबस्न, सामान हटाउनका साथै होटल, लज र अतिथि गृहमा पाहुना नराख्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।
प्रकाशित: ६ श्रावण २०८३ १९:२३ बुधबार



-600x400.jpg)

