२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

लम्पी स्किनको प्रकोप : चितवनमा ३० गाईगोरु मरे

पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० गाईगोरु मरेका छन्। पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यो रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन्।

कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रका अनुसार अहिलेसम्म जिल्लाका ७९३ गाईगोरु, भैंसीमा यो रोगको सङ्क्रमण देखिएको छ। जसमा भैंसी–राँगा चार र गाईगोरु ७९३ छन्। लम्पी स्किनबाट हालसम्म खैरहनी नगरपालिका बढी प्रभावित भएको उनले जानकारी दिइन्।

उनका अनुसार यो पालिकामा हालसम्म ४२५ पशु चौपाया प्रभावित भएका छन् भने २२ मरेका छन्। रत्ननगरमा १९१ पशु चौपाया प्रभावित भएका छन्। जहाँ ४ गाईगोरु मरेका छन्। यस्तै राप्ती नगरपालिकामा ७५, भरतपुर महानगरपालिकामा ६२, माडी नगरपालिकामा २७ र कालिका नगरपालिकामा १३ पशु चौपाया सङ्क्रमित भएका छन्। भरतपुर महानगरपालिकामा चार पशु चौपाया मरेको उनले जानकारी दिए। उनका अनुसार रत्ननगरमा तीन र राप्तीमा एक भैंसी–राँगा प्रभावित भएका छन्।

जिल्लामा लम्पी स्किन देखिन थालेपछि खोप लगाउने किसानको संख्या बढेको छ। हालसम्म ५९ हजार ९७४ पशु चौपायालाई लम्पी स्किनविरुद्धको खोप दिइसकिएको उनले जानकारी गराइन्। गर्मीयाममा लामखुट्टे, झिँगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको मिश्रले बताइन्। गाईभैंसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छन्।

सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र र दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ। यो रोग लाग्न नदिन खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैंसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे र अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीटविकर्षकको प्रयोग गर्नुपर्ने मिश्रले जानकारी दिइन्। रासस

प्रकाशित: २६ श्रावण २०८२ १३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App