३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

सडकमा पार्किङले लियो युवकको ज्यान, सुठौली भन्सारमा स्थानीयको विरोध

भारतबाट आउने मालबाहक सवारीसाधन सडकमै पार्किङ गर्दा दुर्घटना बढेको भन्दै कपिलवस्तुको यशोधरा गाउँपालिका–५, सुठौलीका स्थानीय युवाहरूले शनिबार साँझ विरोध प्रदर्शन गरेका छन्।]

शुक्रबार साँझ सडकमा रोकिराखिएको भारतीय ट्रकमा ठोक्किएर एक युवकको मृत्यु भएपछि आक्रोशित युवाहरूले मर्यादपुरमा टायर बालेर करिब एक घण्टा चक्काजाम गरेका हुन्।

लु २२ प ९४८४ नम्बरको मोटरसाइकल सडकमा रोकिराखिएको युपी ५१ एटी ४४५५ नम्बरको ट्रकमा ठोक्किँदा भएको दुर्घटनामा बाणगंगा नगरपालिका–१, पिपराका ३० वर्षीय गणेशकुमार गुप्ताको मृत्यु भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलको पछाडि सवार २१ वर्षीय ध्रुवकुमार शाह घाइते भएका थिए।

स्थानीय युवा ईशान पाठकका अनुसार सुठौली भन्सार कार्यालयदेखि मर्यादपुरसम्मको करिब पाँच सय मिटर सडकखण्डमा मालबाहक सवारीसाधन लामबद्ध रूपमा पार्किङ गरिँदा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ।

‘पाँच मिटरको बाटोमा तीन मिटरभन्दा बढी गाडीले छेकेको हुन्छ,’ पाठकले भने, ‘यस विषयमा भन्सार, प्रहरी र प्रशासनलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि हामी आन्दोलनमा उत्रन बाध्य भएका हौँ।’

उनले ६ वर्षअघि सोही सडकमा एक ९ वर्षीया बालिकाको पनि दुर्घटनामा मृत्यु भएको स्मरण गराए। युवाहरूले सुठौली भन्सार कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन्।

भन्सार कार्यालयका नायब सुब्बा जगत गुरुङले भन्सारको यार्ड साँघुरो भएका कारण चालकहरू सडकमै गाडी रोक्न बाध्य भएको सुनाए। ‘भन्सार यार्डमा मुस्किलले २५ वटा गाडी मात्रै अट्छन्,’ उनले भने, ‘वार्षिक एक अर्बभन्दा बढी राजस्व उठाउने यो भन्सारमा यार्ड सानो हुँदा व्यवस्थापनमा कठिनाइ भएको छ।’ यस विषयमा भन्सार विभागलाई जानकारी गराइसकिएको उनले बताए।

सुठौली भन्सार कार्यालय विगत ३८ दिनदेखि निमित्त प्रमुखको भरमा चलिरहेको छ। भन्सार प्रमुख नारायण गैरे गत भदौ १८ गते बेलहिया सरुवा भएपछि कार्यालय प्रमुखविहीन बनेको हो।

हाल नासु जगत गुरुङले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन्। त्रिभुवन विमानस्थल भन्सारबाट प्रमुखका रूपमा सरुवा भएका किरण विष्ट अझै हाजिर भएका छैनन्।

प्रमुख नहुँदा भन्सारका कर्मचारीहरूले चालु आर्थिक वर्षको तलबसमेत खान नपाएको लेखापाल महेन्द्र न्यौपानेले जानकारी दिए।

कृष्णनगरपछिको दोस्रो ठूलो मानिने यो भन्सार नाकामा यात्रु तथा सवारीसाधनको चाप अत्यधिक हुने गर्दछ।

प्रकाशित: २५ आश्विन २०८२ १९:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App