पोखरामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि व्यवसायीले ‘जाउँ है पोखरा’ अभियान सुरु गरेका छन्। नेपालका विभिन्न सहरमा प्रवर्द्धन गरेर त्यहाँका पाहुनालाई पोखरा घुम्न बोलाउने व्यवसायीको उद्देश्य छ।
होटल संघ पोखराले अढाई दशकदेखि यो अभियान गर्दै आएका छन्। यसले पोखरामा आन्तरिक पाहुना भित्र्याउन सघाएको व्यवसायीको ठहर छ। अभियानकै कारण पोखरामा आन्तरिक पाहुनाको आगमनको हिस्सा बढेर कम्तिमा ४५ प्रतिशत पुगेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। उनका अनुसार अढाई दशकअघि अभियान सुरु गर्दा पोखरामा आन्तरिक पाहुनाको हिस्सा जम्मा ५ प्रतिशत थियो।
यस वर्षको ‘जाउँ है पोखरा’ अभियान शनिबारबाट सुरु गरिएको छ। चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको यो अभियान यो पटक लुम्बिनी प्रदेशका विभिन्न सहरमा केन्द्रित रहेको अध्यक्ष सुवेदीले बताए। तीनदिने अभियान अन्तर्गत भैरहवा र पाल्पामा पनि प्रवर्द्धनात्मक गतिविधि संचालन गरिने अध्यक्ष सुवेदीले बताए।
‘पोखरामा आन्तरिक पाहुना भित्र्याउनका लागि यो अभियान निकै नै प्रभावकारी बन्दै आएको छ। पोखरामा आन्तरिक पाहुना भित्र्याउनका लागि यो अभियानले सघाएको छ,’ उनले भने, ‘पाहुना भित्र्याउन सक्दा पोखराको पर्यटन क्षेत्रले पनि लाभ लिएको छ। आन्तरिक पाहुना भित्र्याउन सक्दा त्यसले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सघाएको छ।’
उनका अनुसार नेपालमा माओवादी द्वन्द्व सुरुवात हुँदा विदेशी पाहुनाको आगमन कमजोर भएपछि आन्तरिक पाहुनालाई पोखरा भित्र्याउने प्रयास थालिएको थियो। विदेशी पाहुनाको अभावलाई पूरा गर्नका लागि आन्तरिक पाहुनाको भर खोजिएको थियो। प्रवर्द्धन अभियान अन्तर्गत नेपालका विभिन्न सहरमा पुगेर आन्तरिक पाहुनालाई पोखरा बोलाइएको थियो। त्यही अभियानकै कारण पाहुना आगमन बढेको उनले बताए।
‘२५ वर्षदेखि एकैखाले अभियान चलिरहेको छ। उसले आन्तरिक पाहुनालाई घुमघाममा निस्कन पनि जागरुक बनाएको छ। पाहुनालाई घुम्नु पर्छ भन्ने चेतनाको विकास पनि यसले गराएको छ,’ उनले भने, ‘त्यो बेलाको अभियानले गर्दा पोखरामा आन्तरिक पाहुना आगमन बढेका छन्। अफसिजनमा समेत पोखराको पर्यटन क्षेत्रले आन्तरिक पाहुनाकै कारण लाभ लिएको छ।’
होटल संघ पोखरा नेपालको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकीको सहआयोजना तथा प्रवर्द्धनमा यो अभियान संचालन गरिएको उनले बताए। पर्यटनको राजधानी पोखरासँग चितवन, लुम्बिनी र पाल्पालाई जोड्ने गरि पर्यटन प्रवर्द्धनको उद्देश्य समेत अभियानले लिएको अध्यक्ष सुवेदीले बताए।
होटल संघ नेपालका केन्द्रीय सदस्य तथा चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेले आन्तरिक पर्यटन प्रवर्द्धनमा जाउँ है पोखरा अभियान निकै नै प्रभावकारी र अनुकरणीय रहेको बताए। पोखरा–चितवन–लुम्बिनीलाई जोडेर अहिले सिल्भर ट्रयांगलको अवधारणा अन्तर्गत सयुक्त पर्यटन प्याकेज विकासको प्रस्ताव उनले राखे। यो ट्र्यांगललाई अहिले पर्यटन व्यवसायीले पछिल्लो समय प्रवर्द्धन गर्न थालेका छन्। एक सहरमा आएका आन्तरिक पाहुनालाई अर्काे सहरमा पठाउने अभियान बनेको उनले बताए।
पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले सिल्भर ट्रयांगलको अवधारणा पुनः अगाडि बढाइएको बताए। जाउँ है पोखरा अभियानसँग बोर्ड सुरुवाती समयबाटै जोडिएको उनले जानकारी गराए। ‘पर्यटन बोर्डले पनि यो प्रवर्द्धन अभियानमा सहकार्य गरिरहेको छ। नेपालको आन्तरिक पर्यटन प्रवर्द्धनमा यो अभियान निकै नै फलदायी पनि बनेको छ,’ लामिछानेले भने, ‘देशका विभिन्न सहरका आन्तरिक पाहुनालाई पोखरा क्षेत्रमा घुम्न बोलाउँदा त्यसले समग्र पर्यटन क्षेत्र चलायमान बनाएको छ।’
क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओम प्रकाश पाण्डेले पर्यटकलाई सहज हुने खालका नीति सरकारले ल्याउनुपर्ने उनले सुझाव राखे। सरकारले सहजीकरण गरेको अवस्थामा पर्यटकीय सहरमा पाहुना पुग्ने उनले बताए। पछिल्लो समय २ दिन सार्वजनिक बिदा हुँदा आन्तरिक पाहुनाको गतिविधि बढेको पनि उनले बताए।
पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नयाँ पदमार्गहरूको खोजी, उत्थान र प्रवर्द्धनमा सधै लागिपरेको बताए। उनले पदयात्रामा आन्तरिक पाहुनाको पनि बाहुल्यता बढाएको बताए। ‘पछिल्लो समय सहरमा मात्र नभई पर्यटकीय क्षेत्रमा आन्तरिक पाहुनाको भीडभाड बढेको छ,’ आचार्यले भने, ‘सहरमा मात्र नभई आन्तरिक पाहुनालाई गाउँ पुर्याउनका लागि पनि यो अभियान प्रभावकारी बनेको छ।’
प्रकाशित: ७ असार २०८३ ०९:१५ आइतबार



-600x400.jpg)

