सुर्खेतबाट जुम्ला जान आइतबार आएका सिंजा- ८ का धनलाल दमाईं आइतबार दिउँसो कर्णाली राजमार्ग हुँदै दैलेखको खिड्कीज्यूला पुगे। खिड्कीज्यूला पुगेपछि उनले कालीकोटको गगने खोलामा पहिरो गएको सुने। उनी चढेको बस त्यतै रोकियो।
भोलिपल्ट बिहान सडक खुल्छ होला भन्ने आसमा रहेका धनलाल चार दिनदेखि गगने खोलाको पहिरो कुरिरहेका छन्। धनलालले भने ‘चार दिन भयो पासका पैसा पनि सकिए। कहिले बाटो खुल्ने हो?’ उनी चढेको बसका सबैजना जुम्ला र मुगुका थिए, उनीहरूले पनी चार दिनदेखि गगने खोलाको पहिरोले दिएको दुःख सुनाए।
जुम्लाको सिंजा गाउँपालिका जानलाई हिँडेकी गैकला बुढा पनि दुई दिनदेखि सडकले दुःख दिएपछि गगने खोलाको छेउमा गाडीको पर्खाइमा थिइन्। उनले भनिन्, ‘जुम्ला देवता पुज्न जानका लागि आएको कहिले पुगिएला?’
उनीहरू मगलबार दिउँसो सडक खुलेपछि गन्तव्यमा लागेका छन्, तर अहिले फेरि सडक अवरुद्ध भएको छ।
असार लागेपछि कर्णाली राजमार्गमा पहिरोले निकै दुःख दिएको स्थानीयले बताउँछन्। बर्खामा बादल र कुहिरो लाग्ने भएकाले जुम्ला, मुगु र हुम्लाका वासिन्दालाई हवाईजहाज पनि नउड्ने र पहिरोले सडक पनि बन्द हुने हुँदा आवतजावत गर्न कठिनाइ भएकाले सडक यात्रामा पनि धेरै सास्ती खेप्नुपरेको जुम्लाका विकास शाहीले बताए।
सुर्खेतबाट दैलेख हुँदै कालीकोटको मान्मसम्मको दूरी एक सय ५१ किमि छ। त्यसभन्दा माथि जुम्ला बजारसम्म ८२ गरी दुई सय ३२ किमि लम्बाइको कर्णाली राजमार्ग सडकको अवस्था राम्रो भए ८/९ घन्टामै पुगिने हो, तर जीर्ण र साँघुरो सडकका कारण जेठसम्म एक दिनमा सजिलै पुगिए पनि असार लागेपछि ठाउँठाउँको पहिरोले साविकको कर्णालीका कालीकोट, जुम्ला, मुगु र हुम्ला पुग्ने नागरिकले सास्ती पाउने गरेका छन्।
‘सानोतिनो पानी पर्नेबित्तिकै सडक अवरुद्ध भइहाल्छ’, कालीकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतले भने, ‘असार लागेपछि प्रहरीलाई पहिरोको सूचना आदान–प्रदान गर्न र सडक खुलाउनै ठिक्क छ।’
उनका अनुसार असारमा पहिरोले कर्णाली राजमार्गको गाल्जेमा एकपटक, लालु खुलालुमा १, हुल्ममा पाँचपटक पहिरोले सडक अवरुद्ध भएको छ भने साउन लागेयता हुल्ममा ६ पटक, ताडीमा एकपटक, मोल्फा बिहानीमा ६ पटक र गाल्जे एकपटक गरी ३० पटक सडक अवरुद्ध भएको छ।
त्यस्तै असार र साउनमा गरी गगने खोलामा मात्र ३२ पटक पहिरोले सडक अवरुद्ध भएको छ। अरु ठाउँमा त सामान्य नै हो। ‘गगने खोलाले निकै दुःख दियो। पानी पर्नेबित्तिकै लेदोसहितको पहिरो झरिहाल्छ। पहिरो झर्ने र दुर्घटना बढी हुने भएकाले कर्णाली राजमार्गमा राति यात्रा गर्न प्रतिबन्ध छ।’ डिएसपी रावतले भने।
सुर्खेतबाट कतै नरोकिएका गाडी पनि विगत प्रत्येक वर्ष बर्खा सुरु भएपछि कालीकोटको शुभकालिका– १ गगने खोलामा रोकिएर यात्रुलाई सास्ती हुने गरेको छ। बर्सेनि ठेक्का हुने गरे पनि गुणस्तरको काम नहुँदा पानी पर्नेबित्तिकै पहिरोले सडक अवरुद्ध हुने गरेको छ।
२०७८ असोजमा भएको बेमौसमी वर्षाले ठाउँठाउँमा क्षतविक्षत गरेको कर्णाली राजमार्ग सुधारका लागि सरकारले कर्णाली राजमार्गको केही ठाउँमा चौडा गरे पनि गगने खोलामा तीन करोड रुपैयाँको ठेक्काबाट लगाइएको ग्याबिन जालीसहितको पर्खाल गत वर्ष पहिरोले बगाएपछि सडकको अवस्था उस्तै छ।
घाम लागे धुलो पानी परे हिलो हुने कर्णाली राजमार्गको गगने खोलाको पहिरोले सधैं यात्रुलाई सास्ती दिने गरेको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए।
कर्णाली राजमार्गको गगने खोला, जिते, बिहानीलगायतका ठाउँमा पहिरो झरिरहने समस्या रहेकाले सडक विभिजन कार्यालय जुम्लाले तीनवटा मेसिन कालीकोट खण्डमा मात्र तयारी अवस्थामा राखेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीले बताए।
उनले भने, ‘दुई एक्स्काभेटर गगने खोलाको पहिरो भनेर हुल्ममा राखेका छौं’, उनले भने, ‘पहिरो गएपछि वर्षा रोकिनेबित्तिकै डोजर पठाइहाल्छौं।’
असार लागेपछि जितेको चट्टान र गगने खोलाको पहिरोले चार दिन अवरुद्ध भए पनि अरूबेला एक दिनभित्रै पहिरो हटाउन सफल भएको उनले दाबी गरे।
कर्णाली राजमार्गका ठाउँठाउँमा गएको पहिरो सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाले हटाए पनि सधैंजसो झरिरहने गगनेको पहिरोले यात्रुले सास्ती खेप्नुपरेको ट्राफिक प्रहरी कार्यालय मान्मले जनाएको छ। कर्णाली राजमार्गको पादुका, दैखोला, कालेखोला, हुल्म, सेरिघाट, सुनार खोला, ताडी, पिली, टिमुरे भीरमा सडक बिग्रिएकाले यात्रुलाई सास्ती हुने गरेको चालकको गुनासो छ।
सडकको स्तरोन्नतिमा सडक विभागमार्फत सरकारले गत आर्थिक वर्ष मात्र सुर्खेत जुम्ला सडकमा ३२ करोड खर्च गरेको थियो भने स्थानीय तहहरूले वार्षिक ५÷६ करोड बजेट सडकमै खर्च गरिरहेका छन्।
सास्ती कहिलेसम्म?
सुर्खेतबाट साविकको कर्णाली जोड्ने राजमार्ग बनेको दुई दशक पुग्न लाग्यो। कर्णाली राजमार्गले चिनिने सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत सुर्खेतको बांगेसिमलबाट जुम्ला जुगाड खोलासम्मको लम्बाइ दुई सय ३२ किलोमिटर छ।
कर्णाली भ्रमणमा आउँदा तत्कालीन राजा ज्ञानेन्द्र शाहको हुकुमपछि नेपाली सेनाले द्रूत गतिमा सडकको ट्र्याक खोलेको थियो। २०६३ चैत ३० गते पहिलोपटक जुम्लामा गाडी पुगेको थियो।
यो राजमार्गमा गाडी चल्न थालेपछि यहाँका नागरिकको जीवनस्तरमा धेरै परिवर्तन ल्यायो। यसले कर्णालीका नागरिकलाई कैलाली, बर्दिया राजापुरको हाट बजारसम्म मात्र ल्याएन, कर्णालीलाई संघीय राजधानीसँग जोड्न पनि सहज बनायो।
कर्णालीमा यातायात सेवा पुगेसँगै यहाँका नागरिक र बाहिरबाट आउने नागरिकको आवातजावतले तिला र कर्णालीका उजाड बगर बजारीकरण भए। यहाँका पसलेहरू होलसेल बिक्रेतामा रूपान्तरण भए। पैदलयात्रा गरेर २६ दिन लगाएर जाने हाट एक दिनमा नजिकियो।
विगतमा हिँडेका गोरेटा अहिले सडक बने। ठाउँठाउँमा होटल खोलिए। बगरको बालुवामा हटेरुहरू नुन र तेल लिन हाटबजार जानेहरूले खाना पकाएर खाने दिन पनि गए। मानिस हाटबजार जाँदा होटलमा पैसा तिरेर खाना खान थाले। यसले यातायात सेवा पुगेपछि गाउँहरू सहरसँग जोडिँदा कसरी मानिसको जीवनशैलीमा परिवर्तन ल्याउँछ भन्ने अनुभव दिलायो।
मुगु, जुम्ला र कालीकोटका स्याउ, सिमी, फापरलगायतका स्थानीय बालीहरू सुर्खेत, नेपालगन्ज हुँदै काठमाडौंसम्म पुगे। यो राजमार्गले सहरका वस्तुहरू गाउँमा, गाउँका वस्तुहरू सहरमा, सहरको संस्कृति गाउँमा, गाउँको संस्कृति सहरमा घुलमिल गरायो। यसको प्रतिफल आधुनिकताले सडकछेउ मात्र होइन, गाउँ–बस्तीलाई समेत छाडेन।
कर्णाली राजमार्ग सञ्चालनपछि यहाँका हरेक नागरिकलाई ‘सहरिया’ बनायो। गाउँमा कुटो–कोदालो गरेर बसेका मानिस राजमार्गछेउका डरलाग्दा भीरमा पनि घरटहरा निर्माण गरेर व्यापार व्यवसाय गर्न थाले।
यहाँका भीरपाखामा व्यापार व्यवसाय गरेर होस् वा यहाँका विकट बस्तीमा जागिर खाएर कमाएको पैसाले सुर्खेत, नेपालगन्ज, काठमाडौंका साथै मुलुकका अन्य ठूला सहरमा घरघडेरी जोड्न थाले।
यहाँका कमाउने हरेक परिवारको सपना ठूला सहरमा घडेरी जोड्ने सपनामा परिवर्तन भयो। प्रायः यहाँका कमाउने हरेक परिवारले अहिले सुर्खेत, नेपालगन्ज, कैलालीदेखि काठमाडौंमा कहीं न कहीं घरघडेरी बनाएका छन्।
कर्णालीमा सडकले जन्माएका सपनाबाट सिर्जित कार्यले सडकछेउका केही नागरिकलाई त सफलता मिल्यो, तर यहाँका विकट बस्तीका अन्य नागरिकले भने धेरै सास्ती भोग्नुपरेको छ। कर्णाली राजमार्गअन्तर्गत बढीजसो कालीकोट र केही दैलेख सडक खण्डमा निर्माण गरिएका कतिपय घर बाढी र पहिरोको उच्च जोखिममा छन्।
साँघुरो सडकछेउमा बस्दै आएका यहाँका नागरिकलाई आफ्ना घरमा कहिले यातायातका साधन ठोक्किने हो भन्ने समस्या छ। कहिले भिरैसहित कर्णाली नदीमा परिएला कि भन्ने पिर पनि उस्तै छ। साँघुरा र जीर्ण कर्णाली राजमार्गमा यात्रा गर्ने कैयौंले ज्यान पनि गुमाएका छन्।
कर्णाली राजमार्ग कर्णालीवासीका लागि मृत्युमार्गका रूपमा लिने गरिएको छ। यो राजमार्ग सञ्चालन भएदेखि हालसम्म यात्रुबाहक बस, ट्र्याक्टर, मिनीटाटा, मिनी ट्रक, जिपलगायत साना–ठूला गरी दुई सयभन्दा बढी सडक दुर्घटना भएका छन्। एक सयभन्दा बढी दुर्घटना त कालीकोट खण्डमा मात्र भएका छन्।
दैलेख र जुम्लामा पनि सयभन्दा बढी दुर्घटना भएका छन्। कर्णाली राजमार्ग मात्र होइन, कर्णालीका १० वटै जिल्ला जोड्ने सबै राजमार्गको अवस्था नाजुक छ। हरेक राजमार्गमा यात्रा गर्दा यात्रुलाई गन्तव्यमा पुग्नै मुस्किल पर्ने गरेको छ।
पहिरो पन्छाएको पाँच घन्टामै पुनः अवरुद्ध
कर्णाली राजमार्गको सुर्खेत–जुम्ला खण्डस्थित गगनेखोलामा पुनः पहिरो गएको छ। पहिरो पन्छाएको पाँच घन्टामै पहिरो आएर सडक यातायात ठप्प भएको हो।
डिभिजन सडक कार्यालय जुम्लाले पहिरोले सडक पुनः अवरुद्ध भएको जनाएको छ। पाँच घन्टामा रोकिएका सबै गाडी गइसकेका छन्, तर फेरि पहिरो गएकाले सवारी आवागमनमा समस्या देखिएको छ।
अहिले गगनेखोला क्षेत्रमा भीषण वर्षा भइरहेको छ। डिभिजन प्रमुख दीपेन्द्र चौधरीले सडकमा लेदोसहितको पहिरो आइरहेको बताए। ‘तत्काल पन्छाउन सकिने अवस्था छैन, तर बुधबार बिहानदेखि पहिरो पन्छाउने काम सुरु हुने छ’, उनले भने।
चार दिनदेखि पहिरो पन्छाउन नसकिएका कारण स्याउ बोकेका २३ वटा ट्रक रोकिएका थिए।
बर्खाको समयमा सावधानी अपनाएर मात्र यात्रा गर्न र रात्रि समयको यात्रा गर्दै नगर्नसमेत सडक डिभिजन कार्यालयले आग्रह गरेको छ।
कार्यालय प्रमुख चौधरीले भने, ‘वर्षा अझै जारी छ। कर्णाली राजमार्गमा पहिरोको जोखिम कायमै छ। त्यही भएर सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुहोला।’
प्रकाशित: १८ भाद्र २०८२ ११:५० बुधबार





