कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा बुधबार राति पुनः पहिरो गएको छ। सुर्खेत-जुम्ला सडकखण्डमा पहिरो खसेको हो।
यसअघि पटक-पटक पहिरो गई अवरुद्ध हुँदै आएको यस खण्डमा फेरि पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालयले जुम्लाले जनाएको छ। कार्यालयका अनुसार पहिरो पन्छाएर राजमार्ग सुचारु गर्न केही समय लाग्नेछ।
गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो। तर त्यसपछि पनि दुई पटक पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो। लगातारको वर्षाका कारण यस क्षेत्रमा पहिरोको जोखिम बढेको छ।
कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूलाई सास्ती भइरहेको छ। दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत समस्या भएको छ। वर्षा हुने बित्तिकै लेदो र ढुङ्गासहित झर्ने पहिरोले यात्रुलाई सास्ती दिएको हो। असार यतामात्रै २७ पटक गगनेमै पहिरो झरेर ३४ दिन सडक अवरुद्ध भइसकेको छ।
प्रकाशित: १९ भाद्र २०८२ ०८:२२ बिहीबार





