पोखराको फेवाताल किनार (तालघर) सिमाङ्कन गर्ने पहिलो चरणको काम सम्पन्न भएको छ । नेपालकै प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनार (तालघर) छुट्याउनका लागि प्राविधिकले डिजिटल रुपमा यकिन गरेको ठाउँमा भौतिक पोल गाड्ने काम सम्पन्न भएको हो । यसलाई फेवाताल संरक्षणमा कोशेढुंगा मानिएको छ ।
यसअघि सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिले गठन गरेको प्राविधिक उप–समितिले फेवाताल किनार (तालघर)मा १ हजार ५५ वटा डिजिटल पोल गाड्न सिमाङ्कन गरेको थियो । प्राविधिक टोलीले प्राविधिक रुपमा मार्किङ गरेका सबै ठाउँमा भौतिक रुपमा पोल गाडेर सकिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार सम्भव भएका स्थानहरूमा भौतिक रुपमै पोल गाडिएको छ । बाँकी भौगोलिक जटिलता भएका भिरालो जमिनहरूमा आवश्यक चिह्न अङ्कन गरिएको छ ।
भौतिक रुपमा पोल गाड्ने काम डेढ महिनामै सम्पन्न भएकोमा मेयर आचार्यले खुसी व्यक्त गरे । स्थानीयको विरोध र अवरोध झेल्दै भौतिक पोल गाड्न सफल भएकोमा मेयर आचार्य सन्तुष्ट देखिए । ‘फेवताल संरक्षणको दिशामा ऐतिहासिक प्रगति भएको छ’–उनले भने ।
गत जेठ १७ गते फेवाताल किनार (तालघर)मा पोल गाड्ने क्रम सुरु गरिएको थियो । सो कार्यको शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चालु आर्थिक वर्ष भित्रमै फेवाताल किनार (तालघर)मा पोल गाड्ने काम सक्ने दाबी गरेका थिए । उनले भनेका थिए,‘यही आर्थिक वर्ष भित्रमा भौतिक पोलहरू गाडिसक्छौँ । त्यसपछि फेवातालको सिमाङ्कनसँगै सौन्दर्यीकरणको काम तीव्र गतिमा अघि बढ्नेछ ।’ नभन्दै चालु आर्थिक वर्षको अन्तिम दिन असार ३२ गते बुधबार ताल घरमा पोल गाड्ने काम सकिएको हो ।
फेवाताल संरक्षणका लागि पहिलो चरणमा भौतिक पोल गाडेर सकिएकाले अब दोस्रो चरणको काममा लाग्ने मेयर आचार्यले बताएका छन् । दोस्रो चरणमा ताल घरदेखि ६५ मिटर भित्रका जग्गाहरूको वर्गीकरण गरिने उनले जानकारी दिए । उनका अनुसार ६५ मिटर भित्रका जग्गाहरूको वर्गीकरणका लागि कुन जग्गाको मुआब्जा दिनुपर्ने, कुन जग्गाको मुआब्जा दिन नपर्ने छुट्याईनेछ । दूषित जग्गाहरू छुट्याएर सरकारको नाममा ल्याउने कार्य हुने उनले बताए ।
जग्गाको वर्गीकरण सकिएपछि फेवाताल संरक्षणका लागि तेस्रो चरणको काम थालिने जनाइएको छ । यस चरणमा मुआब्जा पाउने जग्गाका लागि मुआब्जा दर तोकिनेछ भने त्यसपछि मुआब्जा वितरण गर्ने र सार्वजनिक आह्वान गरेर मुआब्जा प्राप्त भएका जग्गा खाली गरिने मेयर आचार्यले जानकारी दिए ।
यसअघि सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययन गर्नुका साथै गत वर्षको सर्वाधिक वर्षा भएको दिन असार १२ गते फेवातालमा बढेको पानीको बहावलाई आधार मानेर ६५ मिटर कायम गरिएको थियो । समितिले पछिल्लो पटक यकिन गरेको क्षेत्रफलमा फेवातालको ताल घर र ६५ मिटर भित्रको क्षेत्र ६.३४३ वर्ग किलोमिटर अर्थात १२ हजार ४ सय ६८ रोपनी ३ पैसा ३ दाम कायम भएको छ । यसअघि पूण्यप्रसाद पौडेल नेतृत्वको समितिले फेवातालको आकार ५.७२६ वर्ग किलोमिटर अर्थात ११ हजार २ सय ५५ रोपनी ११ आना २ पैसा मात्र रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । पौडेल नेतृत्वले बनाएको प्रतिवेदनमा भन्दा हालको प्रतिवेदनमा ६१७ वर्ग मिटर अर्थात १ हजार २ सय १३ रोपनी जग्गा हाल थपिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।
फेवातालको क्षेत्रफल २०१८ सालमा १० वर्ग किलोमिटर थियो भने त्यसपछि लगातारको अध्ययनमा घट्दै गएको देखिएको छ । २०३१ सालमा गरिएको अध्ययनमा ६ वर्ग किलोमिटर, २०५२ मा ४.४३ वर्ग किलोमिटर, २०५७ मा ४.२५ वर्ग किलोमिटर हुँदै २०६४ सालमा ४.२ वर्ग किलोमिटरमा झरेको थियो । सर्वोच्च अदालतले २०८० साल असार ४ गते पूर्ण फैसला गर्दै विश्वप्रकाश लामिछाने प्रतिवेदनलाई आधार मानेर फेवातालको ५.६ वर्ग किलोमिटर क्षेत्रफल कायम गर्न भनेको छ । साथै २०३१ पछि दर्ता भएका जग्गा खारेज गर्न तथा त्यसअघि दर्ता भएका जग्गा वालालाई मुआब्जा दिन भनेको छ । त्यस्तै, फेवातालको ६५ मिटर कायम गरेर त्यसमा रहेका संरचना हटाई त्यस क्षेत्रमा सौन्दर्यीकरण गर्न पनि आदेश दिएको छ ।
प्रकाशित: ३२ असार २०८२ १८:२७ बुधबार





