२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

किसानको गुनासो: बोरिङ भएपनि बिजुली र खेतालाको पैसा धान्नै गाह्रो

भरतपुर महानगरपालिका–२५का कृष्ण न्यौपानेले असार महिनामा धान रोप्ने गरी बीउ तयार गरेका थिए । पानी नपर्दा उनले अहिलेसम्म धान रोप्न पाएका छैनन् । बाह्र बिगाहामा खेत रोप्दै आएका न्यौपाने धान रोप्न नपाइने हो कि भन्ने चिन्तामा छन् ।

‘असारमा रोप्न भन्दै धानको बीउ राखेको चालिस दिन भइसक्यो । बीउ बुढो भएको छ’, न्यौपानेले भने ‘ठुलो पानी नपर्दा हामी जस्तो किसानलाई ज्यादै समस्या छ ।’ उनले बाह्र बिगाहा क्षेत्रफललाई पुग्ने धानको बीउ राखेका थिए । सिँचाइको सुविधा भएको आठ बिगाहा क्षेत्रफलमा धान रोपिसकेका छन् । चार बिगाहा क्षेत्रफलमा धान रोप्न बाँकी रहेको उनले सुनाए ।

खेतमा बोरिङ रहे पनि बिजुली र खेतालाको पैसाले धान्न नसक्ने उनले बताए । ‘बोरिङ त छ । त्यहाँबाट पानी निकालेर दिनमा भरिमा पाँच कठ्ठाभन्दा बढी रोप्न सकिँदैन’, उनले भने ‘दिनभरि जोतेको ट्याक्टरलाई दिने पैसा पनि उठ्दैन ।’ उनले २२ दिन अगाडि धान रोप्ने गरी धानको बीउ तयार गरेका थिए ।

पश्चिम चितवनमा साउनको आधा महिना सकिन लाग्दासम्म २५ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन सकेको छैन । कृषि विकास कार्यालय चितवनका अनुसार समयमा पानी नपर्दा भरतपुर महानगरपालिका भित्र धान रोपाइँमा ढिलाई हुँदै गएको हो । कार्यालयको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिका भित्र ७५ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । यहाँ ९ हजार ७ सय हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गर्दछ ।

चितवनको समग्र रुपमा हेर्दा ८८ दशमलव ७२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको कृषि कार्यालय चितवनकी सूचना अधिकारी बिन्दु पौडेलले जानकारी दिइन् । ढिलो गरी मनसुन सुरु हुनु र सिँचाइ सुविधा उपलब्ध नहुँदा रोपाइँ गर्न ढिला भएको उनले बताइन् । उनका अनुसार भरतपुर महानगरपालिकामा सबैभन्दा कम रोपाइँ भएको छ । भरतपुर महानगरपालिकामा केही भागमा आकाशे पानीको भरमा समेत रोपाइँ हुँदै आएको छ । नारायणी लिफ्टबाट पानी छाडिए पनि सबै क्षेत्रमा पुग्न नसकेको कार्यालयको भनाई छ ।

पूर्वी चितवनमा सिँचाइको राम्रो व्यवस्था छ । यहाँ चैते धान समेत रोप्ने गरिन्छ । पश्चिम चितवनमा नजिकै नारायणी बगे पनि गण्डक सम्झौताका कारण त्यहाँका स्थानीय जनताले मोटर समेत लगाएर पानी तान्न पाउँदैनन् ।

राप्ती नगरपालिकामा सत प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको पौडेलले जानकारी दिइन् । राप्तीमा ३ हजार १६० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । यस्तै खैरहनी नगरपालिकामा ९९ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको छ । यहाँ  ३ हजार ५५८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा ९८ प्रतिशत, कालिका नगरपालिकामा ९४ प्रतिशत, माडी नगरपालिकामा ९२ प्रतिशत र इच्छाकामना गाउँपालिकामा ९५ प्रतिशत क्षेत्रफल रोपाइँ भइसकेको कृषि विकास कार्यालय चितवनको तथ्याङ्कमा उल्लेख छ । रत्ननगर, कालिका, माडी र इच्छाकामनामा क्रमशः ३ हजार ३ सय, २ हजार ४७५, ४ हजार ८२० र १९४ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गर्दछ । 

चितवनमा २७ हजार २ सय ७ हेक्टर क्षेत्रफलमा बर्षे धान रोप्ने गरिन्छ । चितवनमा एक साताभित्र रोपाइँ सकिने अनुमान सूचना अधिकारी पौडेलको छ । ‘ढिलो रोपाइँ हुने मकवानपुरको राक्सिराङ गाउँपालिकामामा साउन २० गतेसम्म सकिने अनुमान गरिएको छ । पालिकाका कृषि प्राविधिकले दिएको सूचनालाई आधार मान्दा एक साताभित्र चितवनमा रोपाइँ सकिन्छ’–उनले भनिन ।

पश्चिम चितवनमा पूर्वी चितवनको खगेरी सिँचाइको नहर र नारायणगढ बसपार्क नजिकको नारायणी लिफ्ट आयोजनाको नहरको पानी रोपाइँको लागि प्रयोग गर्ने गरिन्छ। यी नहर छाडिएको छ । तर चर्को खडेरी परेका कारण पुरै क्षेत्रमा पुग्न सकेको छैन । कृषि कार्यालय चितवनको गत वर्षको रिपोर्ट अनुसार चितवनमा ४२ हजार ५५० हेक्टर क्षेत्रफलमा खेती योग्य जमिन छ । त्यसमध्ये ६१ दशमलव ८ प्रतिशत क्षेत्रफलमा सिँचाइ पुगेका छ । 

प्रकाशित: १२ श्रावण २०८२ १८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App