खजुरा गाउँपालिकाले असहाय, अनाथ तथा जोखिममा परेका बालबालिकाको संरक्षण र व्यवस्थापनका लागि बालसंरक्षण गृह सञ्चालनमा ल्याएको छ। गाउँपालिकाभित्रका अभिभावकविहीन भई सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न आफ्नै लगानीमा पालिकाले ‘खजुरा बालसंरक्षण गृह’ सञ्चालनमा ल्याएको हो।
गाउँपालिकाका अध्यक्ष डम्बर विकले भने, ‘हरेक बालबालिकाको सपना, शिक्षा, माया र सुरक्षित भविष्यको अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व हो। यो संरक्षण गृहले बालबालिकालाई केवल आश्रय मात्र दिने छैन, उनीहरूलाई आत्मनिर्भर र असल नागरिक बनाउन शिक्षा र स्वास्थ्यको समेत पूर्ण रूपमा सुनिश्चित गर्नेछ।’
उनले बालबालिकाको चौतर्फी विकास र न्यायपूर्ण वातावरणका लागि यो गृह कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।
बालसंरक्षण गृहमा बालबालिकाका लागि खाने–बस्ने व्यवस्थासँगै उनीहरूको चौतर्फी विकासका लागि विशेष खाका तयार गरिएको छ। गृहमा आश्रित बालबालिकालाई नियमित विद्यालय शिक्षा र नियमित स्वास्थ्य परीक्षणको पनि उचित प्रबन्ध गरिएको गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले बताए।
‘एउटा बच्चा सुरक्षित र शिक्षित हुनु भनेको सिङ्गो समाजको भविष्य सुरक्षित हुनु हो,’ उनले भने, ‘हामीले यो गृहमा आश्रय मात्र होइन, एउटा असल पारिवारिक वातावरण दिन खोजेका हौँ। यहाँ बालबालिकाले ममता, संस्कार र आत्मनिर्भर बन्ने शिक्षा पाउनेछन् । ’
बालसंरक्षण गृहमा बालबालिकाको मानसिक र शारीरिक विकासका लागि खेलकुद सामग्री र पर्याप्त खुला ठाउँको व्यवस्था गरिएको छ। गृहलाई दिगो, सुरक्षित र भरपर्दो बनाउन तथा बालबालिकालाई हौसला दिन समाजका हरेक वर्गको साथ, सहयोग र सद्भाव आवश्यक रहेको उनको भनाइ छ।
‘बालबालिकाको मुस्कान नै हाम्रो प्रेरणा हो’ भन्ने मूल नाराका साथ सञ्चालनमा आएको यस संरक्षण गृहमा आश्रित बालबालिकाको उज्यालो भविष्य निर्माणका लागि गाउँपालिकाले नागरिकस्तरबाट पनि साथ, सहयोग र सद्भावको अपेक्षा गरेको छ। संरक्षण गृहमा बालबालिकाका लागि बस्न, खान, खेलकुद तथा अनौपचारिक शिक्षाको समेत उचित व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए।
कठिन परिस्थितिबाट गुज्रेर आएका बालबालिकालाई सामान्य जीवनमा फर्काउन स्नेहपूर्ण वातावरण र भविष्यमा आत्मनिर्भर बन्नका लागि सीपमूलक शिक्षाको समेत व्यवस्था गर्नेगरी गाउँपालिकाले पूर्वाधार र व्यवस्थापनको जिम्मा लिए पनि यी बालबालिकालाई समाजको मूलधारमा ल्याउन समाजका हरेक वर्गको अपनत्व आवश्यक पर्ने उनको भनाइ छ।
प्रकाशित: ६ असार २०८३ ११:१३ शनिबार



-600x400.jpg)

