११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

४५ वर्षीया खगिसरा कार्की भन्छिन्: सरकार, नागरिकता माग्न म कहाँ जाऊँ?

महिलाका नाममा राज्यले धेरै सेवासुविधा र हक अधिकार छुट्याएको छ, तर उनी ती सबैबाट वर्षौंदेखि टाढा छिन्। त्यसको एउटा मात्र कारण हो– उनीसँग नागरिकता नहुनु।

नागरिकता अभावले सधैं अवसरबाट वञ्चित भएकी उनको नागरिकता बनाउन दौडधूप चलिरहेको छ। उमेरले करिब ४५ वर्ष नाघेकी खगिसरा कार्कीले अहिले पनि नेपाली नागरिकको अनुभूति लिन सकेकी छैनन्। सानै उमेरमा कालीकोटको शुकशालिका गाउँपालिका– ५ का कलमबहादुर कार्कीसँग विवाह गरेकी उनीसँग न जन्म दर्ता नै छ, न त नागरिकता नै।

सुस्त मनस्थितिकी उनले कलिलै उमेरमा उस्तै श्रीमान् पाइन्। घरमा पाँचवटा बालबालिका छन्। श्रीमान कलमबहादुर कार्कीको भने दुई वर्षपहिले मृत्यु भइसक्यो। कलमको नागरिकता छ, तर खगिसराको नागरिकता नहुँदा विवाह दर्ता हुन सकेन। जसका कारण उनी अहिलेसम्म नागरिकताविहीन छन्।

अहिले आफू अनागरिकसरह बाँच्नुपरेको खगिसरा बताउँछिन्। ‘श्रीमान्को नागरिकता र बालबालिकाको जन्म दर्ता छ, आफ्नो जन्मदर्ता पनि छैन, नागरिकता बनाउन वर्षौंदेखि धेरै प्रयास ग¥यौं न नागरिकता बन्यो न त अन्य कुनै प्रमाण छ’, उनले भनिन्।

जन्मदर्ता तथा नागरिकता पाउन धेरै वर्षदेखि संघर्ष गरिरहें। वडादेखि पालिकासम्म पटकपटक धाउँदा पनि आफ्नो पीडा कसैले नसुनेको उनको गुनासो छ।

कार्की दम्पतीका सन्तान आर्थिक अभावले उच्च शिक्षाबाट वञ्चित भएका छन्। तीन छोरीमध्यै एउटीको विवाह भइसकेको छ। उनीहरूले पनि नागरिकता बनाउन सकेका छैनन्। दुई छोरा सानै छन्। ‘नागरिकता नहुँदा पालिकाबाट पाउने कुनै सेवासुविधा पाउन उस्तै समस्या छ’, कार्कीले भनिन्, ‘यतिका वर्ष अनागरिक छु। सरकार ! अब नागरिकता माग्न म कहाँ जाऊँ?’

नागरिकता दिलाइदिन स्थानीय सरकार र नेताहरूसमक्ष हारगुहार गर्दा पनि कसैले चासो नदिएको उनको गुनासो छ। छरछिमेकका सन्तान उच्च शिक्षा पढ्न जाँदा आफ्नाले पढ्न नपाउँदाको पीडाले सताउने गरेको उनको भनाइ छ। ‘नागरिकता नहुँदा रोजगारीसमेत कसैले दिँदैन। परिवारको छाक टार्न हम्मेहम्मे परिरहेको छ’, उनले भनिन्।

शुभकालिका गाउँपालिका– ५ का वडाध्यक्ष मिमबहादुर शाहीले खगिसराको जन्म घर कहाँ हो भनेर नखुलेको सुनाए। उनका बाबुआमा वा घरपरिवारका कुनै पनि सदस्यको पहिचान नहुँदा समस्या भइरहेको शाहीको भनाइ छ।

यो परिवारलाई नागरिकता दिलाउन आफूले जिल्ला प्रशासन कार्यालय धाइरहेको उनले सुनाए। ‘जिल्ला प्रशासन कार्यालयबाट पनि श्रमजीवी मुचुल्का मागेकाले उनलाई नागरिकता दिलाउन प्रयास गरेको छौं’, उनले भने। दुई वर्ष भयो जिल्ला प्रशासनले पनि वास्ता गरेको छैन।

स्थानीय देवीराम आचार्यका अनुसार यी बालबालिकाको भविष्य सुनिश्चित गर्न सरकारले खगिसरालाई नागरिकता दिनुपर्ने बताए। उनले आफूले पटक–पटक कागजात बोकेर जिल्ला प्रशासन कार्यालय पुगेको सुनाए। उनी कुन ठाउँकी हुन् भन्नेबारेमा कुनै पनि जानकारी नभएका कारण अहिले तत्काल नागरिकता दिन नसकिएकोे पाइएको छ।

सानै उमेरमा विवाह

खगिसराले सानै उमेरमा कालीकोटको शुभकालिका गाउँपालिका– ५ का कलमबहादुर कार्कीसँग विवाह गरिन्। विवाहपछि घरपरिवारको नामनिसान सबै भुलिसकेको उनी बताउँछिन्। सुस्त मनस्थितिकी उनको सुस्तमनस्थितिका कलमसँग विवाह भयो। ‘अलि ठुलो भएपछि सबै भुलें। श्रीमान्ले साथ छाडेर जानुभयो’, खगिसराले भनिन्, ‘जाने ठाउँ कहीं नभएपछि म कहाँ जानु ?’

सानै उमेमा विवाह गरेर लामो समय सँगै बसेका श्रीमानको रोगका कारण मृत्यु भयो।’ विवाह गर्दा नागरिकता तथा जन्मदर्ता केही थिएन। पछि श्रीमान्को नागरिकता त बन्यो, तर उनको कुनै प्रमाण छैन।

नागरिकता नहुँदा शिक्षादेखि स्वास्थ्यसम्बन्धी सेवासुविधाबाट वञ्चित हुनुपरेको उनी बताउँछिन्। भन्छिन्, ‘आफूसँग नागरिकता प्रमाणपत्र नहुँदा न अस्पताल सुविधा, न विद्यालयमा बालबालिकालाई शिक्षा, न त जागिरमा अवसर पाएकी छु।’

प्रकाशित: २२ श्रावण २०८२ १०:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App