दसैँ मनाउन पछिल्लो २४ घण्टामा एक लाख ११ हजार ६३९ जना यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते घटस्थापनादेखि आज फूलपातीसम्म ८३ हजार ८७ सवारीसाधनमार्फत कम्तीमा चार लाख ६७ हजार ९७७ जना उपत्यकाबाट बाहिरिएका छन्।
त्यस्तै, घटस्थापनादेखि फूलपातीसम्म ६१ हजार ७८१ सवारीसाधनमार्फत दुई लाख ५२ हजार ७५५ जना उपत्यका भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दसैँ नजिकिँदै जाँदा गाउँ फर्किने यात्रुको संख्या बढेसँगै काठमाडौँ उपत्यका भित्र–बाहिर गर्ने सवारीसाधनको चाप उल्लेख्य रूपमा बढेको छ।
पछिल्लो २४ घण्टामा मात्र १८ हजार ६१३ सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् भने १३ हजार ९२९ सवारीसाधनमार्फत ६१ हजार ८२२ यात्रु काठमाडौँ भित्रिएका छन्।
प्रकाशित: १३ आश्विन २०८२ २१:१९ सोमबार





