कपिलवस्तुको तौलिहवामा कपिलवस्तु नगरपालिका क्षेत्रभित्रका ६० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। कपिलवस्तु नगरपालिकाको सहयोग तथा नेपाल अर्बुद रोग निवारण संस्था, कपिलवस्तुको आयोजनामा उनीहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा नगर प्रमुख सुदीप पौडेलले ज्येष्ठ नागरिकलाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए। सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले ज्येष्ठ नागरिकहरू समाजका जिउँदा इतिहास भएको उल्लेख गरे।
उनले आफूलाई शिक्षा दिने गुरुहरू तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका अग्रज व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा विशेष खुशी लागेको बताए। सम्मानित व्यक्तिहरूबाट प्राप्त आशीर्वादलाई आफूले प्रेरणाका रूपमा लिएको उनको भनाइ थियो।
नगर प्रमुख पौडेलले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नगरपालिकाले १२ वटै वडामा पालैपालो घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेको जानकारी दिए। आगामी दिनमा पनि ज्येष्ठ नागरिकको सम्मान, सहयोग र समन्वयका कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए।
सम्मान कार्यक्रममा दोसल्ला, कदरपत्र, आधा किलो ग्लुकोज तथा गिलासलगायत सामग्री प्रदान गरिएको थियो।
कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्था कपिलवस्तुका अध्यक्ष राजेश ज्ञवालीले नगरपालिकाको सहकार्यमा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे।
कार्यक्रम संस्थाका अध्यक्ष राजेश ज्ञवालीको अध्यक्षता, कमला सापकोटाको स्वागत मन्तव्य तथा सचिव इन्दिरा देवकोटाको सञ्चालनमा सम्पन्न भएको थियो।
प्रकाशित: ३० जेष्ठ २०८३ १९:१८ शनिबार


-600x400.jpg)


