११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

लोकसेवामा फारम भर्नेमा सर्लाही, पास हुनेमा जुम्ला अगाडि

लोकसेवा आयोगका सबै किसिमका परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गर्नेमा जिल्लागत आधारमा यसअघिसम्म स्याङ्जा, गुल्मीलगायत जिल्ला सधैँ अगाडि हुने गरेका थिए। 

तर आर्थिक वर्ष २०८१/८२ मा लोकसेवा आयोगको परीक्षा पास गरी सरकारी सेवामा प्रवेश गर्ने जिल्लाहरूमा जुम्ला अग्रपंक्तिमा रह्यो। यस हिसाबमा आयोगको परीक्षामा अत्यन्त विकट हिमाली जिल्ला जुम्लाले ‘ब्रेक’ गरेको छ।

आयोगले राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनमा उल्लेख गरेअनुसार उक्त अवधि (आ.व. २०८१/८२) मा निजामती सेवातर्फ दुई हजार पाँच सय ८३ जना र राष्ट्रिय मानवअधिकार सेवातर्फ नौ जना गरी कुल दुई हजार पाँच सय ९२ जना उम्मेदवार आयोगको परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा नियुक्तिका लागि लागि सिफारिस भएका छन्। 

तीमध्ये महिला नौ सय दुई जना र पुरुष एक हजार ६ सय ९० जना छन्। उक्त आवमा सरकारी सेवामा सिफारिस गरिएकामध्ये सबैभन्दा बढी उम्मेदवार सिफारिस हुने पहिलो जिल्ला जुम्ला भएको आयोगको प्रतिवेदनमा जनाइएको छ। जुम्लापछि स्याङ्जा, गुल्मी, धनुषा र काठमाडौं/सर्लाही छन्।

जिल्लागत आधारमा मुस्ताङ जिल्लाबाट एक जना मात्र उम्मेदवार सिफारिस भएका छन्। मनाङ जिल्लाबाट यस वर्ष कुनै पनि उम्मेदवार सिफारिस हुन सकेनन्। प्रतिवेदन अनुसार उक्त आवमा सिफारिस हुने उम्मेदवारको औसत उमेर २९ वर्ष रहेको छ। प्रतिवेदनमा जनाइएअनुसार विभिन्न निकायबाट रिक्त पदपूर्तिका लागि माग भएअनुरूप उक्त अवधिमा चार सय ९६ ओटा बढुवा विज्ञापन, एक सय ४१ ओटा आन्तरिक प्रतियोगितात्मक परीक्षा, दुई सय ८६ ओटा खुला प्रतियोगितात्मक परीक्षा र पाँच सय ९० वटा विभिन्न समावेशी समूहका गरी एक हजार पाँच सय १३ वटा विज्ञापन तथा बढुवा सूचनाहरू प्रकाशन गरिएका थिए। 

ती विज्ञापनबाट बढुवातर्फ (आन्तरिक प्रतिस्पर्धाबाहेक) एक हजार ५०, आन्तरिक प्रतियोगितातर्फ तीन सय ३२, खुला प्रतियोगितातर्फ नौ सय ५० तथा महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपांगता र पिछडिएको क्षेत्रका समावेशी प्रतियोगितातर्फ जम्मा आठ सय ४९ गरी कुल तीन हजार एक सय ८१ पदका लागि दरखास्त माग गरिएको थियो।

प्रतिवेदन अवधिमा प्रकाशित आन्तरिक, खुला तथा समावेशी समूहका विज्ञापनका लागि आयोगको अनलाइन दरखास्त प्रणालीमा कुल चार लाख ५९ हजार आठ सय ३४ दरखास्त प्राप्त भएका छन्। विगत वर्षहरूमा जस्तै आर्थिक वर्ष २०८१/८२ मा पनि नेपालका सबै जिल्लाबाट दरखास्त परेका छन्। 

आयोगका अनुसार सबैभन्दा बढी दरखास्त पर्ने पाँच जिल्ला क्रमशः सर्लाही, धनुषा, बारा, महोत्तरी र रौतहट छन्। सबैभन्दा बढी दरखास्त पर्ने जिल्ला सर्लाही भए पनि उत्तीर्ण गर्ने जिल्ला जुम्ला भएको हो। आयोगका अनुसार ती पाँच जिल्ला सर्लाही, धनुषा, बारा, महोत्तरी र रौतहटबाट कुल ८० हजार १ सय ६८ (१७.४३ प्रतिशत) दरखास्त परेका छन्।

त्यस्तै सबैभन्दा न्यून दरखास्त पर्ने पाँच जिल्लामा क्रमशः मनाङ, मुस्ताङ, रसुवा, रुकुम पुर्व र डोल्पा छन्। यी जिल्लाबाट कुल दुई हजार एक सय ८२ (०.४७ प्रतिशत) मात्र दरखास्त परेका छन्। यस वर्ष दरखास्त दिने उम्मेदवारहरूको औसत उमेर २८ वर्ष छ। प्रतिवेदनअनुसार आयोगबाट प्रकाशित निजामती सेवातर्फका तीन हजार एक सय ८१ विज्ञापनमध्ये विभिन्न ४४ वटा विज्ञापनमा कुनै पनि दरखास्त परेनन्।

प्रकाशित: १८ कार्तिक २०८२ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App