५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

प्राकृतिक विपद् न्यूनीकरणका लागि योजना बनाउँदै जुम्ला प्रशासन

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन

जुम्लामा पछिल्ला वर्षहरूमा आगलागीका घटनाहरू व्यक्तिगत घरदेखि कृषि उत्पादन र वन सम्पदासम्म फैलिँदै जाँदा जनधनको क्षति निरन्तर बढ्दै गएको देखिन्छ।

गत चैतमा गुठिचौर गाउँपालिका–३, धापाखेतस्थित स्याउ बगैँचामा भएको आगलागीले ‘अर्गानिक एप्पल एन्ड फार्म’ अन्तर्गतका करिब तीन सय स्याउका बिरुवा नष्ट भएका थिए। गुठिचौर–५, कुम्डीका पूर्व गाउँपालिका अध्यक्षसमेत रहेका हरिबहादुर भण्डारीको उक्त बगैँचामा भएको क्षतिले झण्डै ९ लाख रुपैयाँ बराबरको नोक्सानी पुर्‍याएको थियो। फल फल्न थालेको र उत्पादनको आशा जगाएको बगैँचामा आगो सल्किँदा वर्षौंको श्रम, लगानी र भविष्यको योजना एकैछिनमा खरानी भएको भण्डारी बताउँछन्।

करिब ६१ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको बगैँचामा १ हजार ६ सय बिरुवा रहेका छन्, जसमा स्थानीय र फुजी जातका स्याउ समावेश छन्।

२०८१ सालको माघमा चन्दननाथ नगरपालिका–३, सिम्खाडामा भएको भीषण आगलागीले चन्द्रावती उपाध्याय र धर्मलाल उपाध्यायका घर पूर्ण रूपमा नष्ट भएको थियो। मानवीय क्षति नभए पनि घरसँगै अन्न, लत्ताकपडा, नागरिकता, लालपुर्जा, गरगहना र नगदसमेत जलेपछि उनीहरूका परिवार तत्काल बिचल्लीमा परेका थिए।

चन्द्रावती उपाध्यायको घरमा सुन, चाँदी, तामा, काँसा, खाद्यान्न, फर्निचर र संरचनासहित करिब ७७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको तथ्यांक छ। धर्मलाल उपाध्यायको घरमा भने १ करोड ७३ लाख ६७ हजार रुपैयाँभन्दा बढीको क्षति भएको थियो।

सोही वर्षको चैतमा चन्दननाथ–४, कालढुङ्गी नजिक शिवलक्ष्मी न्यौपानेको तीनतले घर जलेर पूर्ण रूपमा नष्ट भएको थियो। खाद्यान्न, नगद, सुन, कपडा तथा सम्पूर्ण सामग्री जलेर करिब ९६ लाख १७ हजार ६ सय रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरी विवरणमा उल्लेख छ।

२०८२ चैतमा तिला गाउँपालिका–३, कुडारी बजारमा भएको अर्को आगलागीले भौतिक क्षति मात्र नभई मानवीय क्षति पनि निम्त्यायो। कक्षा १० मा अध्ययनरत विद्यार्थी क्षितिज खत्रीको ज्यान गएको घटनाले आगलागीलाई आर्थिक क्षतिमा मात्र सीमित नराखी सामाजिक त्रासदीका रूपमा स्थापित गर्‍यो।

यता, वन क्षेत्रमा पनि आगोको असर गम्भीर बन्दै गएको छ। डिभिजन वन कार्यालय, जुम्लाका अनुसार गत वर्ष मात्रै २९ वटा वन क्षेत्रमा लागेको डढेलोबाट ३ सय ३० हेक्टरभन्दा बढी वन क्षेत्र नष्ट भएको छ। चालु वर्षमा मात्र ६ स्थानमा डढेलो लागेर करिब १ सय हेक्टर वन क्षेत्र क्षति भएको छ। हालसम्म डढेलोबाट ९१ करोड ९७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको तथ्यांक सार्वजनिक गरिएको छ।

जिल्ला प्रशासन कार्यालय र विपद् व्यवस्थापन समितिले मनसुन तथा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ अनुमोदन गरेको छ। आठवटै स्थानीय तहलाई समेटेर विपद् लक्षित बजेट, राहत सामग्री, तालिमप्राप्त जनशक्ति र उद्धार संरचना तयारी गर्ने निर्णय गरिएको छ।

तातोपानी गाउँपालिकाले ५८ लाख ५० हजार रुपैयाँ विपद् कोषमा छुट्याएको छ भने गुठिचौरले ९ लाख, सिंजाले १५ लाख र जिल्ला विपद् व्यवस्थापन समितिले १३ लाख ४१ हजार ६ सय ८५ रुपैयाँ संकलन गरेको छ। तर चन्दननाथ नगरपालिकामा विपद् कोष नै नहुनु तथा केही गाउँपालिकामा बजेट अस्पष्ट रहनुले जोखिम व्यवस्थापनमा असन्तुलन देखाएको छ।

२०७९ असोजमा आएको बेमौसमी वर्षाले बाढीपहिरोमार्फत जुम्लामा १८ हेक्टर मार्सी फाँट, सयौं कुलो तथा झण्डै हजारौं निजी संरचनामा क्षति पुर्‍याएको अनुभव अझै ताजा छ। त्यही घटनापछि जिल्लामा विपद् तयारीमा सक्रियता बढे पनि व्यवहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण देखिन्छ।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विपद् प्रतिकार्य योजनामा “शून्य सहनशीलता” अपनाइने बताउँदै समन्वय र कार्यान्वयनलाई मुख्य आधार बनाइएको उल्लेख गरे।

जुम्ला अझै पनि आगलागी, डढेलो र प्राकृतिक विपद्को उच्च जोखिममा छ। जहाँ एकातिर पूर्वतयारीका योजना बनिरहेका छन्, अर्कोतिर आगोले निरन्तर जनजीवन, सम्पत्ति र भविष्य खरानी बनाइरहेको छ।

प्रकाशित: ५ जेष्ठ २०८३ १७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App