गौर हत्याकाण्ड छानबिनका लागि सर्वोच्चले दिएको परमादेशविरुद्ध जनता समाजवादी पार्टीले कपिलवस्तुको सदरमुकाम तौलिहवामा विरोध प्रदर्शन गरेको छ। परमादेश पूर्वाग्रही रहेको भन्दै कार्यकर्ताले तौलिहवामा विरोध प्रदर्शन गरेका छन्।
रौतहटको गौरमा १९ वर्षअघि भएको हत्याकाण्डको छानबिन गर्न सर्वोच्च अदालतले सोमबार परमादेश दिएको थियो। त्यसैको विरोधमा जसपा नेपालका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र सरकारी वकिलको कार्यालय परिसरमा भेला भई विरोध प्रदर्शन गरे। उनीहरूले प्रधानमन्त्री, सरकार, एमाले, काङ्ग्रेसको विरोधमा नाराबाजी गर्दै न्यायालयको न्याय सम्पादनमाथि पनि प्रश्न उठाएका छन्।
गौर हत्याकाण्डमा जसपा नेपालका अध्यक्ष यादव लगायतविरुद्ध परेको जाहेरीमा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश दिएको थियो। ७ चैत २०६३ मा रौतहटको गौरमा रहेको राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार गरी कार्यक्रम गर्न लाग्दा दुवै पक्षबीचको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए।
जसपा नेपाल कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले राजनीतिक पूर्वाग्रह राखेर गौर घटनाको छानबिन गर्न लागिएकोले विरोध प्रदर्शन गरिएको बताए। भूमि अध्यादेशमा असहमति जनाउँदा अध्यक्ष यादवविरुद्ध षड्यन्त्र गरिएको भन्दै उनले विरोध जनाए। गौरको घटनामा मधेसका जनताको स्वस्फूर्त सहभागितामा भएको राजनीतिक विषयलाई प्रतिशोधको रूपमा प्रस्तुत गरिएको उनको भनाइ छ।
विरोध प्रदर्शनमा जसपा नेपालका केन्द्रीय सदस्य नेता अब्दुल रसिद खाँ, केन्द्रीय सदस्य तथा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, केन्द्रीय सदस्य साधिका यादव लगायतको सहभागिता रहेको थियो।
प्रकाशित: ३ भाद्र २०८२ १९:०४ मंगलबार





