२५ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

पाल्पामा जिप भिरबाट खस्यो, १० जना घाइते

पाल्पाको तिनाउ गाउँपालिका-४ चिउरीडाँडास्थित भित्री कच्ची सडकमा सोमबार बिहान जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्। घाइतेमध्ये चार वर्षीय एक बालकको अवस्था गम्भीर रहेको छ।

माथागढी गाउँपालिका-५ बंसिड डाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप बिहान करिब ७ बजे अनियन्त्रित भई सडकबाट करिब ११० मिटर तल खसेको प्रहरीले जनाएको छ।

May be an image of tree

दुर्घटना लगत्तै प्रहरी सहायक निरीक्षक खिल बहादुर रानाको कमाण्डमा खटिएको ट्राफिकसहितको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो। घाइते सबै १० जनालाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ।

May be an image of jeep and text

दुर्घटनामा बुटवल उपमहानगरपालिका-१८ पोखराबारीका ४ वर्षीय बालक देनिश थापाको अवस्था गम्भीर रहेको छ। उनको टाउकोमा गम्भीर चोट लागेको छ।

सोही ठाउँकी ३६ वर्षीया दुर्गा थापा र बुटवल-१८ मोतिपुरकी ३६ वर्षीया सपना रानाको अवस्था भने मध्यम रहेको छ।

त्यस्तै दुर्घटनामा टाउकोमा चोट लागेका ३९ वर्षीय जिप चालक देव कुमार घर्ती र ४१ वर्षीय मन बहादुर गाहा घाइते भएका छन्।

पाल्पाकै तिनाउ गाउँपालिका-३ सत्यवतीका ३६ वर्षीय खम बहादुर डिसुवा मग, ५१ वर्षीय नरसिंह डिसुवा मगर र ३६ वर्षीया शर्मिला डिसुवा मगर को पनि मध्यम अवस्थामा उपचार भइरहेको छ।

यसैगरी, स्याङ्जाको कालिगण्डकी गाउँपालिका-१ का १० वर्षीय बालक सन्तोष रेश्मी र ३५ वर्षीय भुवनसिंह रेश्मी पनि टाउकोमा चोट लागी घाइते भएका छन्।

घाइते सबैको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको र दुर्घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २५ श्रावण २०८३ १५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App