२५ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

रास्वपा महामन्त्री आचार्यको प्रश्न: सांसदको क्षमता सदुपयोग भएको छ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा सांसद विपिन आचार्यले नेपालको संसदीय अभ्यासप्रति गम्भीर प्रश्न उठाउँदै संसद्को गतिविधि ‘कर्मकाण्डी’ बन्दै गएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै आचार्यले अहिलेको संसदीय अभ्यासबाट सांसदहरू नै सन्तुष्ट छन् कि छैनन् भन्ने विषयमा सामूहिक समीक्षा गर्नुपर्ने बताए। उनले संसद्मा हुने गतिविधिले सांसदहरूको क्षमता र भूमिकालाई प्रभावकारी रूपमा उपयोग गर्न नसकेको दाबी गरे।

आचार्यले भने, ‘मैले धेरै पटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भन्दै आएको छु। संसद्मा पनि बोलेको छु, बाहिर पनि बोलेको छु। अब एक पटक सबै सांसदहरूबीच सर्वेक्षण गर्नुपर्छ। हामी सबै सांसदहरू अहिलेको संसदीय अभ्यासबाट खुसी छौँ त?’

उनले सांसदहरूको क्षमता अहिलेको अभ्यासबाट पूर्ण रूपमा सदुपयोग भइरहेको छ कि छैन भन्ने प्रश्नसमेत उठाए।

आचार्यले संसदीय अभ्यासमा सुधार आवश्यक रहेको भन्दै त्यसका लागि सबै दल र सांसद मिलेर काम गर्नुपर्ने धारणा राखे। उनले संसद्को प्रभावकारिता बढाउन छुट्टै ‘संसदीय सुधार समिति’ गठन गर्न प्रस्तावसमेत अघि सारे।

‘यो संसदीय अभ्यास सुधारका लागि सबैले मिलेर काम गर्नुपर्छ। मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर एउटा संसदीय सुधार समिति बनाएर अहिलेका सांसदलाई प्रभावकारी बनाउनेबारे काम गर्नुपर्छ,’ उनले भने।

आचार्यले आफ्नो प्रस्तावप्रति सभामुखको ध्यानाकर्षणसमेत गराउँदै संसदीय अभ्यासलाई प्रभावकारी र परिणाममुखी बनाउन सुधारको बहस अघि बढाउन आग्रह गरे।

प्रकाशित: २५ श्रावण २०८३ १६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App