युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले नेपालको ठुलो युवा जनसङ्ख्या चुनौती नभई देश विकासका लागि ऐतिहासिक अवसर भएको बताएका छन्।
संसद्मा बाल श्रम (निषेध तथा नियमन गर्ने) विधेयक, २०८३ पेस गर्दै उनले युवाको ऊर्जा र सीपलाई सही दिशामा परिचालन गर्न सके देशको आर्थिक रूपान्तरण सम्भव हुने बताएका हुन्।
मन्त्री यादवका अनुसार नेपाल सरकार कार्य विभाजन नियमावली २०८३ मार्फत विभिन्न मन्त्रालय र निकायबाट सञ्चालित युवा लक्षित बहुआयामिक कार्यक्रमहरूलाई राष्ट्रिय प्राथमिकतासँग जोड्ने र समन्वय गर्ने जिम्मेवारी युवा, श्रम तथा रोजगार मन्त्रालयलाई दिइएको छ।
नेपाली युवालाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन ‘युवा नीति २०८२’ ल्याइएको जानकारी दिँदै उनले यस नीतिले रोजगारी, सूचना प्रविधि र एआई जस्ता आधुनिक क्षेत्रका अवसर तथा चुनौतीहरूलाई समेटेको बताए।
साथै, ‘राष्ट्रिय युवा परिषद् ऐन २०७२’ को पुनरावलोकनका लागि नेपाल कानुन आयोगबाट नयाँ ऐनको मस्यौदा मन्त्रालयमा प्राप्त भइसकेको उनले जानकारी गराए।
स्वदेशमै पर्याप्त अवसर सिर्जना गर्न मन्त्रालयले रोजगार प्रवर्द्धन दशकलाई सर्वोच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री यादवले राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम र करियर उडान जस्ता विशेष योजना सञ्चालन गरिने बताए।
यसअन्तर्गत एआई बिजनेस डेभलपमेन्ट, इभी, रिपेयर, निर्माण र केयर इकोनोमी जस्ता क्षेत्रमा विशेष तालिम प्रदान गरिनेछ।
यसैगरी, सहिद परिवार, जनआन्दोलनका घाइते, अपाङ्गता भएका व्यक्ति, सुकुम्वासी तथा सीमान्तकृत समुदायलाई कार्यस्थलमा आधारित सीप विकास तालिम दिइनेछ।
युवालाई उद्यमशीलतासँग जोड्न स्थानीय तहका रोजगार सेवा केन्द्रहरूलाई रोजगार सीप तथा उद्यमशीलता केन्द्रका रूपमा रूपान्तरण गरिएको समेत मन्त्री यादवले संसद्लाई जानकारी दिए।
प्रकाशित: २५ श्रावण २०८३ १६:३१ सोमबार





-600x400.jpg)