प्युठानको झिमरुक गाउँपालिका–३ लामासेरास्थित बाग्दुला–गौमुखी सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
नारीकोटबाट बाग्दुलातर्फ जाँदै गरेको नमस्ते प्युठान यातायातको लु १ ज ४८३३ नम्बरको फोर्स जिप ब्रेक फेल भई सडकमै पल्टिएको हो।
चालकसहित १४ जना सवार उक्त जिप दुर्घटनाका घाइतेहरूको बिजुवारस्थित निमतारा पोलिक्लिनिकमा उपचार भइरहेको छ। घाइतेमध्ये गौमुखी-७ नारीकोटका २८ वर्षीय रबी सुनारको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
दुर्घटनापछि गौमुखी गाउँपालिका-७ नारीकोटका २५ वर्षीय गाडी चालक ऋषीराम केसी र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि घाइते हुने अन्य यात्रुहरूमा गौमुखी गाउँपालिका-७ नारीकोटका ५० वर्षीया गीता गिरी, २७ वर्षीया सावित्रा परियार, ३३ वर्षीया लक्ष्मी विक, ३५ वर्षीया सीता रोका, उनका १० वर्षीय छोरा रबिन रोका र ५ वर्षीय सरप्राइज केसी रहेका छन्।
त्यस्तै, गुल्मीको मदाने गाउँपालिका-१ निवासी २८ वर्षीया शान्ता परियार पनि दुर्घटनामा घाइते भएकी छन्।
प्रकाशित: २६ श्रावण २०८३ १५:५५ मंगलबार





