स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका १ मा कोदोखेती सुरु गरिएको छ। गण्डकी प्रदेशका ११ जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास स्रोत केन्द्रले गण्डकी प्रदेशमै मूल बीउ उत्पादन गर्ने उद्देश्यले प्रदेशमै पहिलो पटक ३० रोपनी जमिनमा कोदोखेती सुरु गरिएको कार्यालय प्रमुख सुदीप रेग्मीले बताए।
‘पछिल्लो समय कोदोको माग बढ्दो क्रममा छ’ उनले भने, ‘कृषकको मागलाई मध्यनजर गर्दै नेपाल सरकारले सिफारिस गरेको ‘काभ्रे २’ जातको कोदोको मूल बीउ उत्पादन गर्ने गरी अहिले कोदो रोप्ने काम भइरहेको छ।’
बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आइरहेको कार्यालयले विशेषगरी कृषि प्राविधिक, कर्मचारी, बीउ उत्पादक समूह, सहकारी व्यावसायिक कृषकहरुलाई बीउ उत्पादन गर्दा आइपर्ने समस्या, रोग, कीरा, मलखाद्य, प्रशोधन तथा बजारीकरणसम्बन्धीका विषयमा प्रयोगात्मक ज्ञानसमेत दिने गरी अगाडि बढिएको बताए।
‘जग्गा व्यवस्थापन, बीउको छनोटदेखि लिएर बजारीकरणसम्मका सम्पूर्ण प्रक्रिया कार्यालयमार्फत हुन्छ’, उनले भने, ‘बीउ उत्पादक कृषक, समूह सहकारीले यस कार्यालयले गरेका गतिविधिहरु हेरेर, बुझेर आँफूले आफ्नो व्यावसायलाई अझै व्यवस्थित गर्दै लैजानका लागि सहज हुने विश्वास लिएका छौँ।’
प्रकाशित: २६ श्रावण २०८३ १५:५६ मंगलबार





