डोल्पाको मौरेलेख क्षेत्रमा आइतबार भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालकसहित १३ जना घाइते भएका छन्।
दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–८ निवासी ३८ वर्षीया विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप सडकबाट करिब २० देखि २५ मिटर तल खस्दा दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख जयराज सापकोटाले बताए।
दुर्घटनामा घाइते भएका चालकसहित १३ जनाको प्रारम्भिक उद्धार गरिएको छ। उनीहरूलाई थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ।
उद्धार कार्यलाई तीव्र बनाउन चन्दननाथ नगरपालिकाबाट एम्बुलेन्स घटनास्थलतर्फ पठाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।
प्रकाशित: २१ असार २०८३ १६:५८ आइतबार





