१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

तीजप्रति जुम्लाका पुराना पुस्ताको चिन्ता: ‘मादललाई डीजेले जित्यो, मर्मलाई विकृतिले’

कुनै बेला मनका दुःख-पीडा पोख्ने सांस्कृतिक पर्वका रूपमा मनाइने हरितालिका तीज अहिले आधुनिकता र बजारीकरणको प्रभावले भड्किलो र खर्चिलो बन्दै गएको छ।

मादलको मौलिक ताललाई डीजेको चर्को ध्वनिले विस्थापित गर्दा तीजको वास्तविक मर्म नै हराउन थालेकोमा जुम्लाका पुराना पुस्ताले चिन्ता व्यक्त गरेका छन्।

एक समय थियो जब दिदीबहिनीहरू आँगनमा भेला भएर वर्षभरिका दुःख, वेदना र भोगाइलाई मौलिक भाकामा गाउँदै मन हल्का पार्थे। तर, आजभोलि ती मौलिक भाकाहरू व्यावसायिक र भड्किला गीतहरूको भीडमा हराएका छन्।

‘हाम्रा पालामा चेलीबेटीले भोगेका दुःख, दर्दका गीत गाइन्थ्यो, तर अहिले सुन्नै नसक्ने खालका गीत छन्,’ चन्दननाथ नगरपालिका-२ की ६६ वर्षीया रमादेवी उपाध्यायले पुराना दिन सम्झिँदै भनिन्।

तीजको गीत मात्र होइन, यसको समग्र स्वरूप नै फेरिएकोमा पुराना पुस्ताको गुनासो छ। चन्दननाथ–४ की ६३ वर्षीया तिलाकन्या चौलागाईंका अनुसार तीज अब मनको बोझ बिसाउने पर्वभन्दा पनि उच्छृङ्खल, तडकभडक र देखासिकीको चाड बनेको छ।

‘सासुले दिएका पीडा, माइत जान नपाएका गुनासा समेटिने गीतमा अचेल त्यो स्वाद भेटिँदैन,’ उनले थपिन्, ‘दर खाने नाममा महिना दिनअघिदेखि होटलमा महंगा कपडा र गहना प्रदर्शन गर्ने चलनले पर्वलाई भड्किलो बनायो।’

परिवर्तित समयसँगै तीजको दरको परिभाषा पनि बदलिएको छ। पहिले घिउ, खिर, दूध, दही जस्ता परिकारलाई दर मानिन्थ्यो भने अहिले दरको अर्थ ‘मासु-भात’ मा सीमित हुन थालेको छ।

स्थानीय ५८ वर्षीया काली सुनारका अनुसार विगतमा माइत जान पनि तीज नै कुर्नुपर्ने र परिवार लिन आए मात्र जान पाइने सामाजिक अवस्था थियो।

यस्तै सामाजिक र पारिवारिक कथाव्यथा पोख्ने माध्यम बनेको तीजको मौलिकता हराउँदा सांस्कृतिक पहिचान नै कमजोर बन्दै गएकोमा बुढापाकाहरू चिन्तित छन्।

उनीहरूले सस्तो लोकप्रियताका लागि छाडा गीत-संगीत सिर्जना गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै तीजको सांस्कृतिक महत्व जोगाउन सबैले प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: १० भाद्र २०८२ १९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App