२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

तुइन खोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने, यी हुन् वैकल्पिक मार्ग

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने जनाइएको छ। मंगलबार दिउँसो ४:३० बजे खसेको पहिरो आज बिहानबाट पन्छाउन थालिएको हो।  

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ। दमौलीबाट अर्को एउटा स्काभेटर मगाइएको छ।  

सडकको १६० मिटर भाग पहिरोले ढाकिएको छ। लामिछानेले पहिरोको तस्बिर हेर्दा माथिबाट अरू ठूलो पहिरो झर्ने सम्भावना कम भए तापनि माथिबाट झर्न बाँकी केही ढुंगाहरू पूर्ण रूपमा नझरेकोले साना तथा मझौला पहिरो खस्न सक्ने सम्भावना रहेको बताए।  

सो ठाउँमा गत शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ। समय समयमा पहिरो पन्छाएर केही सवारी आवागमन गराइएको भए पनि मंगलबार साँझबाट ठप्प भएको छ। सडक रोकिएसँगै ठूलो संख्यामा सवारीसाधन लाममा छन्। यात्रुवाहक सवारीसाधन भने फर्काएर वैकल्पिक मार्गतर्फ लागेका छन्। मालवाहक सवारीसाधन लाममा छन्।  

प्रयोग गर्न सकिने वैकल्पिक मार्ग
डिभिजन सडक कार्यालय चितवनले तुइन खोलामा पहिरोका कारण सवारी रोकिएपछि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। कार्यालयले दिएको जानकारीअनुसार साना सवारी चितवनको जुटपानी, शक्तिखोर, मायाँटार हुँदै धादिङको मलेखु निस्कन सकिन्छ। त्रिभुवन राजपथ हुँदै धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कन सकिन्छ।  

हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखाने, सिस्नेरी हुँदै दक्षिणकाली बाटो हलुका सवारीसाधन सञ्चालन गर्न सकिन्छ। काठमाडौंतर्फ जाने ठूला सवारीसाधनका लागि पूर्वबाट कान्ति लोकपथ प्रयोग गरी हेटौंडा, गिंगन हुँदै भट्टेडाँडा हुँदै ललितपुरको सातदोबाटो निस्कन सकिन्छ।  

त्यसैगरी पोखरा जानका लागि ठूला साना दुवै सवारीसाधनले बुटवल हुँदै पोखरा जान मिल्छ। कालीगण्डकी कोरिडोरको बाटो साना सवारी सञ्चालन गर्न सकिन्छ। गैंडाकोटबाट तनहुँको भिमाद र पाल्पाको रामपुर जान सकिन्छ।

प्रकाशित: ८ आश्विन २०८२ १२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App