यात्रा प्रकृति वा सृष्टिको हुन्छ। स्थावर, जङ्गम सबैको आफ्नै यात्राको लय हुन्छ। हामी सबै यस गतिशील यात्राका साक्षी हौं। यसको न आदि छ न अन्त्य,यो त निरन्तर गतिशील रहेको छ। यही आउनेजाने क्रममा आफ्नै लयमा देखिएका नियात्राकार प्रदीप सापकोटा र उनको यात्राको लय नियात्रासङ्ग्रह यसै यात्राको साक्षी बनेको छ।
नियात्रा, कविता र समीक्षा लेखनमा सक्रिय उनी विभिन्न साहित्यिक तथा सामाजिक सङ्घसंस्थामा आबद्ध छन्। यात्राको इन्द्रेणी रङ (नियात्रासङ्ग्रह, २०७७), मनको वारपार (मुक्तकसङ्ग्रह, २०७८) कृति प्रकाशित गरिसकेका सापकोटाको यात्राको लय (२०८१) दोस्रो नियात्राकृति रहेको छ। नियात्रामा नियात्राकारका अनुभूतिको प्रस्तुति रहेको हुन्छ। यात्रासंस्मरण वा यात्रावृत्तान्तमा संस्मरणात्मकता र वर्णनात्मकताको प्रयोग भएको हुन्छ। यसमा नियात्राकारका भोगाइ र अनुभवलाई आत्मपरक सन्दर्भबाट प्रकट गरिएको छ। यी सबै विशेषता यस कृतिले अवलम्बन गरेको पाइन्छ।
प्रस्तुत नियात्राकृतिमा नियात्राकारले यात्राका क्रममा घुमेका विभिन्न स्थानको वर्णन गरिएको छ। यस क्रममा तत् - तत् स्थानको आर्थिक, सामाजिक, भौगोलिक, राजनैतिक, शैक्षिक, धार्मिक लगायतका पक्ष उजागर गरिएको छ। यसमा पश्चिम नेपालको टनकपुर, बाग्लुङ लगायत पूर्वी नेपालका विभिन्न भूभाग र भारतको दार्जीलिङ, मिरिक आदि स्थलको यात्राका क्रममा देखेभोगेका दृश्य, घटना र अनुभूति नियात्राकारले रोचक ढङ्गमा प्रस्तुत गरेका छन्।
विगतमा सशस्त्र द्वन्द्वकालीन नेपाली समाजमा पारेको प्रभावका साथै आफू पनि त्यसबाट प्रभावित हुन पुगेको यथार्थ चित्र प्रस्तुत गरिएको छ। यसक्रममा पश्चिम नेपाल बढी प्रभावित हुन पुगेको कुरा लेखकले जागिरका सिलसिलामा बाग्लुङका ग्रामीण वस्तीमा पुग्दा गरेको अनुभवले, मनै सिरिङ्ग हुने गरी गरिएको भौतिक आक्रमणले त्रास र आतङ्क मच्चाएबाट पुष्टि भएको छ।
शान्तिसुरक्षा कायम राख्ने नाममा अनाहकमा सेनाले आमनागरिकलाई दुःख दिने प्रवृत्ति यसमा उजागर गरिएको छ। जागिरको सिलसिलामा यात्रा गर्दा अवस्था नबुझी आतङ्ककारी करार गर्न सेना र राज्यसत्ता लागिपरेको प्रवृत्ति र मानवीय मूल्य देखाइएको छ।
जनता राज्य र विद्रोही दुवै पक्षको मारमा परेको बताउँदै विगतको नेपालको गौरवपूर्ण इतिहास र नयाँ मुलुक प्राप्त गरेको स्मरण गरिएको छ। निराशाका बीच पनि आशावादी चिन्तन बोकेका नियात्राकारमा देशप्रेमको भावनाले नियात्रालाई जुरूक्कै माथि उठाइदिएको छ।
राजनैतिक अदूरदर्शिता र अपरिपक्व नेतृत्वका कारण सीमामा बस्ने नेपालीले छिमेकी मुलुक भारत र भारतीयहरूको दुर्व्यवहार खेप्नुपरेको यथार्थ चित्र प्रस्तुत भएको छ। राष्ट्रवादी चिन्तन बोकेका यस नियात्रामा सीमा समस्या, नेपाल र नेपालीपनप्रति गौरवबोध गरिएको छ। यहाँ असमान सन्धिसम्झौता, अन्तर्राष्ट्रिय मान्यता, असमान व्यवहार, जातीय विरोध, अन्याय, अत्याचार र विभेदको खुलेर विरोध गरेको पाइन्छ।
बाग्लुङको मल्लकालीन गल्कोट दरबार, घोडाबाँधेको ऐतिहासिक महत्त्व र राजा महेन्द्रको प्रसङ्गका साथै सिन्धुलीगढी र अङ्ग्रेज युद्धका विषयले इतिहासको महत्त्त्वपूर्ण क्षण सगौरव वर्णन गरेको छ। मकवानपुरगढी र वीर गोर्खालीका अमर गाथाको वर्णन भएबाट पनि इतिहास पनि वर्तमानको आधार भएको पुष्टि भएको छ।
प्रस्तुत नियात्रामा भौगोलिक कठिनाइ, यातायातको असुविधा, सडकको दुरावस्था, शिक्षा, शैक्षिक दुरावस्था, बेथिति, विकृति, विसङ्गतिका साथै कृषि र कृषिकर्मको लागि बाग्लुङको पश्चिमी भेगको महत्त्व उजागर गरिएको छ। जीवनका आरोहअवरोह, जीवन सोचे जस्तो नभएको वैचारिक चिन्तन प्रस्तुत गर्दै लेखकले जीवनका भोगाइको चित्र प्रस्तुत गरेका छन्। उनले जीवनमा पहिलोपल्ट पिँढीमा बास बस्नुपर्दाको अनौठो अनुभूति प्रस्तुत गर्दै ग्रामीण जनजीवनलाई नजिकैबाट बुझ्न पाउँदा खुसीको अनुभूति प्रकट भएको छ। विगतका घटना सम्झिंदै मनमा अनेकौँ आशङ्का, जीवनका यात्रा, निम्न वर्गको अवस्थासँगै परिवर्तित चेतना उनमा पाइएको छ।
समानताका पक्षमा वकालत गर्दै परिवर्तनको चाहना यी नियात्रामा प्रस्तुत भएको छ। यसमा आर्थिक असमानता, पञ्चायती व्यवस्था र त्यसले पारेको प्रभाव, राजनीतिक प्रणालीप्रति व्यङ्ग्य, राजनीतिक व्यक्तित्वको गैरजिम्मेवारी र जनताले भोग्नुपरेका सास्ती, सरकार र राजनैतिक नेतृत्वले स्थानीय समस्याको बेवास्ता गर्ने प्रवृत्ति, जनआक्रोश, लापरवाही, ढिलासुस्ती, राजनैतिक क्षेत्रका विकृति, विसङ्गतिको चित्रण गर्नुका साथै बेरोजगारी समस्या, बाढीपीडितले भोग्नुपरेका कठिनाइ, युवाहरूको विदेश पलायन र देशमा त्यसले पारेको प्रभाव देखाइएको छ। नागरिकको महत्त्व नबुझ्नु, आर्थिक असमानता, गरिबी, अभाव, पीडा, दुःखलाई नजिकैबाट नियात्राकारले छामेका छन्।
धार्मिक एवम् पौराणिक सन्दर्भको चर्चा गर्ने क्रममा मकरमेलाको महिमा, धार्मिक आस्थाको केन्द्र एवम् पुराणमा वर्णित वराहक्षेत्रको धार्मिक एवम् पुरातात्त्विक महत्त्व समेत यहाँ प्रस्ट पारिएको छ। कुम्भको अर्थ र अस्तित्व, धर्मप्रतिको आस्था एवम् विश्वास र तपस्थलीका रूपमा यस क्षेत्रको विकासमा जोड दिइएको पाइन्छ।
दोलखा भीमेश्वरको साहित्यिक माहोल, सुकुटेको साहित्यिक रमझम र धार्मिक महत्त्व प्रस्ट्याइएको छ। प्राकृतिक अद्भूत कलाको चित्रण गर्दै दोलखाको जिरी नेपालको स्वीजरल्याण्ड हो भनी चिनाउने काम यसमा भएको छ। लेखकले साहित्यका उच्च व्यक्तित्व भानुभक्त र लक्ष्मीप्रसाद देवकोटाप्रति श्रद्धास्मरण गरेका छन्।
दार्जीलिङको विशेषता बोकेको टाइगर हिल, चिया बगानका साथै नेपाली साहित्यको श्रीवृद्धिमा अग्रसर रहेको बताउँदै पारसमणि प्रधान, इन्द्रबहादुर राईप्रति सम्मानका भाव उजागर भएका छन्। साहित्यिक महत्त्व, न्यायिक कार्य, प्राविधिक ज्ञानमा जोड, समाजसेवा, विश्वव्यापी कोरोना महामारीको सन्दर्भ नियात्राकारका अनुभूतिका रूपमा आत्मप्रकटीकरण भएका छन्। मानिसका स्वार्थी प्रवृत्ति पनि लेखकका अनुभूतिका रूपमा आएका छन्।
यात्राको लय नियात्रामा लेखकले आफूले देखेको र भोगेका घटना, दृश्य र अनुभूतिहरूलाई सरल भाषाशैलीका माध्यमबाट रोचक र कलात्मक ढङ्गले प्रस्तुत गरेका छन्। ग्रामीण लवजका ठेट नेपाली शब्दको प्रयोगले नियात्रा बढी आकर्षित र रोचक बनेका छन्। कतिपय पाठकका लागि शब्द नौला र असहज लाग्ने हुन सक्ने भए पनि ती मिठास र सरस रहेको पाउँछौ। ग्रामीण परिवेश एवम् तराईको परिवेश होस् वा भारतका स्थानको भ्रमणका क्रममा भोगेका अनुभूतिलाई पात्रले स्थानीय भाषाका माध्यमबाट व्यक्त गर्न सके पनि नियात्राकारलाई अर्नि शब्द नबुझ्दा परेको अप्ठेरो परिस्थिति पनि पाठकलाई उत्साह जगाउने खालको रहेको छ। समग्रमा भन्दा धार्मिक, सामाजिक, सांस्कृतिक, भौगोलिक, आर्थिक, राजनैतिक, न्यायिक, शैक्षिक क्षेत्रको उठान गरिएको यो नियात्राकृति पठनीय रहेको छ।
प्रकाशित: २९ फाल्गुन २०८२ १३:२३ शुक्रबार





