भोटेकोशी र त्रिशूली नदीको भीषण बाढीले सडक कटान गरेपछि अवरुद्ध बनेको देशकै लाइफलाइन पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड सञ्चालनमा आउन अझै कम्तीमा १५ दिन लाग्ने भएको छ।
सडक विभागले मंगलबार पत्रकार सम्मेलन गरी प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली परिचालन गरेर सडक खुलाउने तयारी थालिएको जानकारी दिएको छ।
सडक भास्सिएको तीन दिन बितिसक्दा पनि कृष्णभीरमा सडक कसरी खुलाउने भन्ने विषयमा प्राविधिक अन्योल कायमै छ।
विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार जियो-टेक्निकल टिमसँगको परामर्शपछि मात्रै त्रिशूलीपारि नयाँ ट्र्याक खोल्ने वा साबिककै सडक मर्मत गर्ने भन्ने टुङ्गो लाग्नेछ।
राजमार्ग अवरुद्ध हुँदा पश्चिम नेपालतर्फको सीधा सडक सम्पर्क टुटेकाले हाल हेटौंडा जोड्ने राजमार्ग तथा स्थानीय वैकल्पिक सडकहरूबाट यातायात व्यवस्थापन मिलाइएको छ।
स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले नदीको ठूलो बहावले सडकको तल्लो भाग कटान गरेको र माथिल्लो भागमा समेत चिरा परेर पहिरो खसेको जानकारी दिए।
सहसचिव ढकालले भने, ‘राजमार्ग खुलाउन सडक विभागले यसलाई उच्च प्राथमिकता दिएको छ। आज हामी पनि हेरेर यसको एउटा प्रतिवेदन दिन्छौं र तत्कालै यही राजमार्ग खुलाउने तथा पारिबाट वैकल्पिक मार्गहरू पनि प्रयोग गर्ने गरी काम गर्छौँ। यो राजमार्ग नेपालकै लाइफलाइन भएकाले विज्ञहरूको रायअनुसार सकेसम्म १० देखि १५ दिनमा खुलाउन प्रयत्न गर्छौं र वैकल्पिक रूटहरू प्रयोग गरेर यातायात सञ्चालन गर्छौँ।’
उनले आगामी दिनमा नदी करिडोरमा बन्ने सडकलाई दिगो र विपद्प्रतिरोधी बनाउन सडकको उचाइ बढाउने, अग्ला पुल, वैकल्पिक लिंक र आवश्यक स्थानमा साना सुरुङ निर्माण गर्ने नीति लिनुपर्ने आवश्यकता औँल्याए।
यसैबीच, सडक विभागका भू-प्राविधिक विज्ञ मधुसुदन आचार्यले कृष्णभीरमा पुरानै ‘स्लोप फेलियर’ भएको क्षेत्रमा पुनः पहिरो दोहोरिएको बताए।
उनका अनुसार तत्काल यातायात सुचारु गर्न माथिल्लो भागको जोखिमयुक्त माटो तथा कमजोर संरचना पन्छाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको छ।
प्रकाशित: १६ भाद्र २०८३ १७:३३ मंगलबार


-600x400.jpg)


