जाजरकोटको कुशें गाउँपालिकामा औषधी खरिद प्रक्रियामा गम्भीर अनियमितता भएको तथ्य बाहिर आएको छ । बोलपत्रमा पेश भएको मूल्यभन्दा विपरीत फरक दरमा भुक्तानी गरिएको पाइएको हो ।
महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदन अनुसार पालिकाले १३ वटा औषधी आइटममा उच्च मूल्य दररेट कायम गरी भुक्तानी गर्दा करिब १ लाख ७६ हजार रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नु परेको छ ।
आर्थिक वर्ष २०८० र ०८१ मा औषधी खरिदका लागि पालिकाले ३५ लाख २२ हजार २ सय ९१ रुपैयाँको लागत अनुमान तयार गरी शिलबन्दी दरभाउपत्र आह्वान गरेको थियो । प्राप्त ६ मध्ये न्यूनतम दर प्रस्तुत गर्ने सरोबर मेडिसिन डिष्ट्रिव्युटर्ससँग १६ लाख ३५ हजार ५ सय ९० रुपैयाँमा सम्झौता पनि भएको थियो । तर, आपूर्ति चरणमा बोलपत्रमा उल्लेख भएको दरभन्दा फरक (उच्च) मूल्यमा भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ ।
औषधी खरिदमा उत्पादन मिति, म्याद सकिने मिति, ब्याच नं. कम्पनीको नाम र निःशुल्क वितरणका लागि भन्ने उल्लेख अनिवार्य हुन्छ तर, पालिकामा आपूर्ति भएका धेरै औषधीमा यी विवरण स्पष्ट नभएको र औषधीको म्यादमा न्यूनतम १८ महिना बाँकी हुनुपर्ने व्यवस्था समेत पालना नगरिएको पाइएको छ ।
विशेषगरी औषधी खरिदको प्रक्रियागत त्रृटी, मुल्य हेरफेर र मापदण्ड उल्लंघन नै मुख्य अनियमितताका रूपमा महालेखाको प्रतिवेदनमा औंल्याइएको छ ।
लेखापरीक्षणले मितव्ययी खर्च र सकसयुक्त शीर्षकमा खर्च न्यूनीकरण गर्न पटक–पटक निर्देशन दिएको भए पनि पालिकाले पालना नगरेको पाईएको छ । स्थानीयबासीहरूका अनुसार कमिशन र मिलिभगतका कारण खरिद प्रक्रियामा पारदर्शिता कमजोर बन्न पुगेको बताईन्छ ।
प्रकाशित: २३ कार्तिक २०८२ १८:१५ आइतबार





-1200x560-600x400.jpg)