३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवारीका साथ काम गर्न निर्देशन

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवारीका साथ काम गर्न सम्बन्ध सबैलाई निर्देशन दिएका छन्।

मंगलबार उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमनपछि उनले ट्राफिक प्रहरी कर्मचारीलाई अनुशासित, शिष्ट र सेवामुखी भई प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न र सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवार बन्न निर्देशन दिए।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले उपत्यकामा बढ्दो सवारी चाप र सडक दुर्घटनाको चुनौतीलाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले ट्राफिक प्रहरीको भूमिका नागरिकको सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको बताउँदै प्रत्येक ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी इमान्दारी, अनुशासन र सेवाभावका साथ निर्वाह गर्नुपर्नेमा जोड दिए।

'सडकमा ट्राफिक प्रहरीले ठूलो जिम्मेवारी बोकेर काम गरिरहेका हुन्छन्', उनले भने, 'सडकमा खटिने प्रत्येक ट्राफिक प्रहरी नागरिकको सुरक्षासँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्। त्यसैले ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउँदै दुर्घटना न्यूनीकरणका लागि थप सक्रियता देखाउनु आवश्यक छ।'

कार्कीले उपत्यका ट्राफिक प्रहरी कार्यालयका विभिन्न शाखा, सेवा प्रवाहको अवस्था, दैनिक ट्राफिक व्यवस्थापनको प्रणाली तथा भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी लिएका थिए। उनले ट्राफिक व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा पनि चासो व्यक्त गरे।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि पुनःनिर्माण गरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका संरचना तथा विभिन्न शाखाको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले निरीक्षण गरेका थिए।। पुनःनिर्माणपछि कार्यालयको सेवा प्रवाह र कार्य वातावरणमा सुधार आएको भन्दै उनले सम्बन्धित निकायलाई धन्यवाद व्यक्त गरेका थिए।

सोही अवसरमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी आयोजित एकदिवसीय कार्यशाला गोष्ठीको प्रतिवेदन प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीसमक्ष प्रस्तुत गरेका थिए।

प्रतिवेदनमा सडक सुरक्षा सुदृढीकरण, ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उपाय, दुर्घटना न्यूनीकरणका रणनीति तथा ट्राफिक जनचेतना अभिवृद्धिका कार्यक्रमबारे उल्लेख गरिएको थियो।

प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले उपत्यकामा बढ्दो सवारीसाधनको चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी सक्रिय रूपमा परिचालित भइरहेका जानकारी दिए। उनले नागरिकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै सडक सुरक्षामा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

अनुगमन कार्यक्रमले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा ट्राफिक प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले उल्लेख गरे। कार्यक्रममा ट्राफिक प्रहरीका अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति थियो।

प्रकाशित: ३ चैत्र २०८२ ०८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App