२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

बिओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बल नेपालको जिमुवा बोर्डर आउट पोष्ट (बिओपी) स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण गरिएको छ।

सीमा निगरानीका लागि विसं २०७७ असोजमा स्थापना भएको उक्त बिओपीमा आवास, अतिथि गृहसहितका पूर्वाधार निर्माण गरिएको हो। सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षको योजनाअन्तर्गत निर्माण गरेको अतिथि गृह भवनको आइतबार उद्घाटन गरिएको छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले अतिथि गृह भवनको उद्घाटन गरे।

अतिथि गृह भवनको उद्घाटन गर्दै मन्त्री सार्कीले मन्त्रालयले बिओपीमा पूर्वाधार सुधार गर्ने योजनाअन्तर्गत भवन निर्माण गरिएको बताए। उनले बिओपीमा पूर्वाधार नहुँदा सीमा सुरक्षार्थ खटिएका प्रहरीले आफैं सुरक्षित हुने अवस्था नरहेकाले प्रदेश सरकारले प्राथमिकताका साथ पूर्वाधार निर्माण गरिरहेको बताए।

साथै उनले प्रदेश सरकारले प्रहरीलाई सुरक्षा र विपद् उद्धारका लागि आवश्यक सामग्री प्रदेशभर वितरण गरेको जानकारी दिए। पूर्वाधार निर्माणले सशस्त्र प्रहरी आवास व्यवस्थापनमा सहज हुने बताउँदै उनले सीमा निगरानी, अवैध ओसारपोसार नियन्त्रण र राजस्व छली नियन्त्रणमा सक्रियताका साथ काम गर्न निर्देशन दिए।

सशस्त्र प्रहरी बलको सुदूरपश्चिम प्रमुख प्रदीपकुमार पालले पूर्वाधार निर्माणले प्रहरीको सेवा प्रवाहमा सहज हुने बताए। उनले स्रोतसाधनको अभावमा प्रहरीले सेवा प्रदान गरिरहेको बताउँदै सबै बिओपीमा आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग आग्रह गरे।

प्रदेश सरकारद्वारा विनियोजित रु ४० लाख बजेटमा रु २९ लाख ७३ हजारमा ठेक्का सम्झौता भई अतिथि गृह निर्माण गरिएको मन्त्रालयका निमित्त सचिव आमोद दहालले जानकारी दिए। उनले चालु आर्थिक वर्षमा थप तीन वटा बिओपीहरूमा पूर्वाधार निर्माण गर्ने प्रदेश सरकारको योजना रहेको बताए। जिमुवामा गत वर्षको सङ्घीय योजनाअन्तर्गत दुई वटा प्रहरी ब्यारेक भवनको निर्माण सम्पन्न भएको छ। जिमुवा क्षेत्रको दुर्गम टोल श्रीलङ्कामा रहेको बिओपी यसअघि खानेपानी कार्यालयको भवनमा बस्दै आएको थियो।

वर्षातको समयमा बाढीको उच्च जोखिम रहेको यस क्षेत्रमा भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुनेछ। त्यसैगरी शनिबार मात्रै बेलौरीको खड्डाकंकडमा रहेको बिओपी भवनको मन्त्री सार्कीले उद्घाटन गरेका थिए। रासस

प्रकाशित: १६ भाद्र २०८२ ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App