पोखराको सेती नदी खोँचमा हामफालेका एक युवकको शव फेला परेको छ।
पोखरा–१७ महतगौंडास्थित सेती खोँचमा हाम फालेर बेपत्ता भएका भारत, सितामढी स्थायी घर भई हाल पोखरा–१७ घारिपाटन बस्ने ३४ वर्षीय मुकेश महतोको शव सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले उद्धार गरेको हो।
महतो आइतबार बेलुका सेती खोँचमा हाम फालेर बेपत्ता भएका थिए। राती पौने १० बजे सेती खोँचमा हाम फालेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल, २४ नम्बर कालिका गणका सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको नेतृत्वको १८ जनाको उद्धार टोलीले खोजी थालेको थियो।
राती अबेरसम्म पनि महतोको शव नभेटिएपछि टोली फर्किएको थियो। बिहान सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा ११ जनाको विशेष विपद् व्यवस्थापन टोलीले पुनः खोजी गर्ने कार्य जारी राखेको थियो।
सो क्रममा बिहान पौने १० बजेको समयमा शव फेला पारेको गणले पठाएको प्रेस नोटमा उल्लेख छ। सेतीको करिब २५० फिट गहिरो खोँचमा फेला परेको शवलाई रोप रेस्क्यू विधिको प्रयोग गरेर बाहिर निकालेको सशस्त्र प्रहरीले जनाएको छ।
मृतक महतोको शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। सेतीमा तार जाली नहुँदा हरेक वर्ष यस्ता घटना दोहोरिने गरेका छन् ।
प्रकाशित: ११ जेष्ठ २०८३ १४:२८ सोमबार




-600x400.jpg)
