भारतको विहार राज्यमा हुन लागेको विधानसभाको निर्वाचनलाई लिएर भारतीय सुरक्षा अधिकारीहरूले नेपालको सुरक्षा व्यवस्थाबारे गम्भीर सरोकार राखेका छन्। जेन-जी आन्दोलनका क्रममा सुरक्षा अंगबाट लुटिएका हतियार र भागेका अपराधीहरूको अवस्था अज्ञात रहेको भन्दै भारतले नेपालको फितलो सुरक्षा व्यवस्थाबारे प्रश्न उठाएको हो।
अहिले पनि जेलबाट भागेका ६ हजार बढी अपराधी बाहिर रहेको र प्रहरीबाट लुटिएका हतियार पनि सरकारको पहुँचमा नआएका कारण भारतले प्रश्न उठाएको हो। साथै भारतीय प्रहरीले नेपालको सीमा क्षेत्रका कडाइ गर्न र भारततर्फ अपराधी आउन नदिन सहयोगसमेत मागेको छ। नेपाली पक्षसँग सुरक्षा सहयोग मागिरहेका बेला सोमबार गृहमन्त्री ओमप्रकाश अर्याल मधेस प्रदेश पुगेका छन्। मधेस प्रदेशको सुरक्षा अवस्था बुझ्न उनी मधेस पुगेका हुन्।
दुई साताअघि भारतको बिहार प्रदेशसँग सीमा जोडिएका नेपालका पाँच प्रदेशका सशस्त्र प्रहरी बलका डिआइजी (सशस्त्र प्रहरी नायब महानिरीक्षक) लाई भारतको बिहारमा बोलाएर सुरक्षा स्थितिबारे प्रश्न उठाइएको हो। बिहारसँग सीमा जोडिएका तथा त्यससँग सम्बन्ध राख्ने कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सशस्त्र प्रहरीका डिआइजीहरू उक्त प्रदेशमा पुगेका थिए। भारतीय अधिकारीहरूले उनीहरूसँग नेपालको वर्तमान सुरक्षा व्यवस्थाबारे भारत सरकार आश्वस्त हुन नसकेको जनाएका थिए।
सशस्त्रका अधिकारीहरू भारतीय सीमा सुरक्षा (एसएसबी) को निमन्त्रणामा बिहारमा गएका हुन्। मधेसबाट कृष्ण ढकाल र कोसीबाट एसएसपी विक्रम हुमागाईं गएका थिए। त्यस्तै बागमतीबाट अञ्जनी पोखरेल र गण्डकीबाट दीपेन्द्र शाह सहभागी भएका थिए। लुम्बिनीका डिआइजी दीपेन्द्र कुँवर भने बिरामी भएको बहानामा सहभागी भएनन्। उनले आफ्ना प्रतिनिधिसमेत नपठाएको स्रोतको भनाइ छ। बारा, पर्सा, रौतहट र धनुषाका गणपतिहरूलाई पनि मुख्यबाहेकका बैठकमा सहभागी गराइएको थियो। बिहारमा हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीका डिआइजीलाई वीरगन्जपारि बिहारमा बोलाइएको जनाइएको छ।
सशस्त्र प्रहरीका डिआइजीहरूले जेलबाट भागेका अपराधी पक्राउमा सहयोग गरेकोमा भारतीय सीमा सुरक्षा बलको खुलेर प्रशंसा गरेका थिए। बिहारमा कात्तिक २० र २५ गते विधानसभाको निर्वाचन हुँदै छ। सुशीला कार्की नेतृत्वको सरकार गठन भएको सन्दर्भमा भारतले सशस्त्र प्रहरी बललाई निमन्त्रणा गरेर सुरक्षा अवस्था कमजोर भएको र त्यसमा भारतीय पक्ष आश्वस्त हुन नसकेको बताउनुलाई अर्थपूर्ण मानिएको छ। यो विषयमा सशस्त्र प्रहरी बलले औपचारिक रूपमा केही बताएको छैन।
‘जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदी बिहारको निर्वाचनमा दुरुपयोग नहोस् भनेर भारतीय पक्षले विशेष चासो राखेको थियो,’ सशस्त्र प्रहरीका एक डिआइजीले भने, ‘उनीहरूको चासो नेपालमा भएको आन्दोलनले भारतमा पारेको प्रभाव र लद्दाखमा भएको बम विस्फोटबारे पनि थियो।’ भारतीय पक्षले विहारमा हुने निर्वाचन अवधिभर सीमामा निगरानी, गस्ती , पेट्रोलिङ, सतर्कता बढाइदिन आग्रह गरेको थियो।
‘भारतीय सीमा सुरक्षा बलले सीमा क्षेत्रमा कडाइ गरिदिन आग्रह गरेको छ। यसमा हामीले सकारात्मक वचन दिएका छौं। साथै उनीहरूले गरेको सहयोग पनि खुलेर प्रशंसा गरेका छौं,’ ती डिआइजीले नागरिकसँग भने। ती डिआइजीका अनुसार अहिले नेपाल–भारतको सीमा क्षेत्रमा भारतीय पक्षले कडा पारेको छ। भारतीय पक्षले नेपालबाट जाने सवारीसाधन तथा मानिसहरूलाई आवतजावतमा कडाइ गरेको छ। विहारमा हुन लागेको निर्वाचनलाई लिएर त्यहाँको प्रहरीले सीमा क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरेको हो। नेपाली सुरक्षा अधिकारीहरूले पनि त्यहाँको चुनावलाई सहयोग पुग्ने गरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाएको छ।
प्रकाशित: ११ कार्तिक २०८२ ०७:४७ मंगलबार





