२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

मनसुन छिट्टै आएपछि धान रोपनीमा वृद्धि, कुन प्रदेशमा कति?

यो वर्षको मनसुन अपेक्षित समयभन्दा पहिले आएको प्रभाव धान रोपनीमा परेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म देशभर ४५.०३ प्रतिशत रोपनी भएको छ, जुन गत वर्षको यही अवधिको तुलनामा १.५३ प्रतिशतले बढी हो। गत वर्ष यति बेलासम्म ४३.५ प्रतिशत रोपनी भएको थियो।

विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलले धेरैजसो किसान रोपनीका लागि आकाशे पानीमा निर्भर रहने उल्लेख गर्दै यो वर्ष नेपालमा मनसुन पहिले नै आएर गत वर्षको तुलनामा धान रोपनी बढेको बताए।

‘पूर्वी तराईबाट मनसुन सुरु भए पनि वर्षा कम भएका कारण मधेस प्रदेशमा अन्य प्रदेशको तुलनामा रोपनी पनि कम भएको छ, तैपनि गत वर्षको तुलनामा बढी छ,’ उनले भने, ‘सामान्यतया सुदूरपश्चिम प्रदेशमा छिट्टै रोपनी सुरु हुने र मधेसमा ढिलो सुरु हुने गरेको छ।’

विभागका अनुसार देशभर कुल १३ लाख ८३ हजार सात सय ३२ हेक्टरमध्ये हालसम्म ६ लाख २३ हजार एक सय ४.४७ हेक्टरमा रोपनी भइसकेको छ।

कोशी प्रदेशमा हालसम्म २ लाख ७६ हजार ३ सय ८६.७३ हेक्टरमध्ये ८१ हजार ६ सय ३४.९ हेक्टरमा रोपनी भएको छ, जुन २९.५४ प्रतिशत हो। यो प्रदेशमा गत वर्ष यही अवधिमा ३४.४ प्रतिशत रोपनी भएको थियो।

मधेस प्रदेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमध्ये ९३ हजार ४ सय ६८.२ हेक्टरमा रोपनी सम्पन्न भएको छ, जुन २५.०८ प्रतिशत हो। यो प्रदेशमा गत वर्षको यही समयमा २५.५ प्रतिशत रोपनी भएको थियो।

विभागका अनुसार बागमती प्रदेशमा १ लाख २० हजार ५ सय ४५ हेक्टरमध्ये हालसम्म ५१.९ प्रतिशत अर्थात् ६२ हजार ५ सय ६१ हेक्टरमा रोपनी भएको छ। यो प्रदेशमा गत वर्षको सोही अवधिमा ४१ प्रतिशत रोपनी भएको थियो।

गण्डकी प्रदेशमा ९४ हजार १ सय ८२ हेक्टरमध्ये ५५.६ प्रतिशत अर्थात् ५२ हजार ३ सय ५३ हेक्टरमा रोपनी भएको छ। गत वर्ष सोही अवधिमा यो प्रदेशमा ४९.७ प्रतिशत रोपनी भएको थियो।

विभागका अनुसार लुम्बिनी प्रदेशमा ३ लाख २ हजार ९ सय ३९ हेक्टरमध्ये १ लाख ५७ हजार ८ सय ५७ हेक्टरमा रोपनी भएको छ, जुन ५२.१ प्रतिशत हो। यो प्रदेशमा गत वर्षको यही अवधिमा ४४.४ प्रतिशत रोपनी भएको थियो।

कर्णाली प्रदेशमा ४० हजार ८ सय ८४ हेक्टरमध्ये हालसम्म ७१.७ प्रतिशत अर्थात् २९ हजार २ सय ९९ क्षेत्रफलमा रोपनी भएको छ। गत वर्ष सोही अवधिमा ७८ प्रतिशत रोपनी भएको थियो।

विभागले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेशमा १ लाख ७६ हजार १ सय ५१ हेक्टरमध्ये हालसम्म १ लाख ४५ हजार ९ सय ३२ हेक्टरमा रोपनी सकिएको छ, जुन ८२.८ प्रतिशत हो। यो प्रदेशमा गत वर्षको सोही अवधिमा ८६ प्रतिशत रोपनी सकिएको थियो।

कृषि मन्त्रालयका अनुसार देशभर झन्डै ५० प्रतिशत रोपनी मनसुनी वर्षाकै भरमा हुने गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष जनकपुर, सिमरा, विराटनगरलगायतका स्थानमा औसतभन्दा कम र धनगढी, सुर्खेत, भैरहवा, लुम्ले, जुम्ला, दाङ, काठमाडौंमा औसतभन्दा बढी वर्षा भएको छ।

यस्तो छ वर्षाको अवस्था
जल तथा मौसम विज्ञान विभाग, हावापानी विज्ञान महाशाखा (हावापानी विश्लेषण शाखा) का अनुसार मनसुन अवधिमा १४ सय मिलिमिटर सरदर वर्षा हुने गरेकोमा हालसम्म ३५२.२ मिलिमिटर अर्थात् २३.८ प्रतिशत वर्षा भएको छ।

महाशाखाले जुन महिनामा भएको वर्षा सरदरको ९९ प्रतिशत रहेको जनाएको छ। सामान्यतया सरदरको ९० देखि ११० प्रतिशतसम्मको वर्षालाई नेपालको सरदर वर्षा मान्ने गरिन्छ। ‘जुन महिनासम्मको तथ्यांक विश्लेषण गर्दा समग्रमा सरदर नै वर्षा भएको छ। तर कुनै स्थानमा बढी र कुनै स्थानमा कम वर्ष पनि भएको छ,’ विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन्।

यो वर्ष नेपालमा मनसुन सरदरभन्दा १५ दिनअघि जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरी असार ६ गते देशभर फैलिएको थियो। सामान्यतया जुनदेखि सेप्टेम्बरसम्मको चार महिनाको अवधिलाई मनसुन ऋतु भनिन्छ। मनसुन ऋतु सुरु हुनुअघि गत जेठ ७ गते नेपालको यो वर्षको मनसुन ऋतुको ऋतुगत हावापानी आकलन सार्वजनिक गरिएको थियो। हाल जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनाका लागि हावापानी आकलन अद्यावधिक गरिएको छ।

जुलाईदेखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन अवधिमा मधेस प्रदेशका दक्षिणी भागमा सरदरभन्दा कम, कोशी प्रदेशका दक्षिणी भागमा सरदर र देशका बाँकी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी भाग र गण्डकी प्रदेशको धेरैजसो भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत छ भने सुदूरपश्चिम प्रदेशको दक्षिणी भाग, लुम्बिनी प्रदेशको पश्चिमी भाग, गण्डकी प्रदेशको उत्तर-पूर्वी भाग, बागमती र कोशी प्रदेशको उत्तरी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ।

सुदूरपश्चिम प्रदेशको उत्तरी भाग, लुम्बिनी प्रदेशको दक्षिण-पूर्वी भाग, बागमती प्रदेशको दक्षिणी भाग र कोशी प्रदेशको मध्य भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ भने कोशी प्रदेशका दक्षिणी भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ। साथै मधेस प्रदेशका मध्य तथा पूर्वी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ।

धान उत्पादन
कृषि मन्त्रालयका अनुसार वर्ष २०८१ मा ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको छ, जुन २०८० सालको तुलनामा ४.०४ प्रतिशतले बढी हो। गत कोशी प्रदेशमा १४ लाख ६६ हजार ५ सय १८ मेट्रिक टन, मधेस प्रदेशमा १४ लाख ८० हजार ८ सय ३० मेट्रिक टन, बागमती प्रदेशमा ४ लाख ९८ हजार ६ सय ३२ मेट्रिक टन, गण्डकी प्रदेशमा ३ लाख ७९ हजार ३२ मेट्रिक टन, लुम्बिनी प्रदेशमा १३ लाख ६४ हजार ३१ मेट्रिक टन, कर्णाली प्रदेशमा १ लाख ३० हजार १ सय ९१ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ३६ हजार २ सय १२ मेट्रिक टन धान उत्पादन भएको थियो। प्रगति ढकाल/रासस

प्रकाशित: २५ असार २०८२ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App