लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा रहेका छ वटा प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीले पहिरोका कारण यातायात सेवा प्रभावित भएको जनाएको छ।
प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्ड, कान्ति लोकपथ, मेची राजमार्ग, सालझण्डी–ढोरपाटन सडक तथा अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा पहिरो खस्दा ती सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
यस्तै, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा बन्द भएको छ, जसका कारण उक्त मार्ग हुँदै हुने सवारी आवागमन ठप्प भएको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न क्षेत्रमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाउँदै बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। यात्रु तथा चालकलाई यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न पनि अनुरोध गरिएको छ।
प्रकाशित: २ श्रावण २०८३ १८:५३ शनिबार





