२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

प्रेरणाले दाइजो पाएको जग्गा चाँडै ट्रस्टका नाममा

सुसमाचार

पूर्वराजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणालाई दाइजोका रूपमा दिएको छाउनीस्थित घरजग्गा नेपाल ट्रस्टका नाममा ल्याउने प्रक्रिया अघि बढेको छ। सर्वोच्च अदालतले २०७६  माघमा छाउनीस्थित १५ रोपनी जग्गा र त्यसमा बनेको घर नेपाल ट्रस्टको हुने फैसला सुनाएको थिया। यसअघि भएका फैसलाको विरोधमा प्रेरणाले हालेको रिट खारेज गर्दै सर्वोच्चले ट्रस्टका पक्षमा फैसला सुनाएको थियो।

फैसलाबमोजिम सरकारले ट्रस्टका नाममा उक्त घरजग्गा ल्याउन प्रक्रिया अघि बढाएको हो। भूमि व्यवस्था मन्त्रालयले पनि उक्त घरजग्गा ट्रस्टका नाममा ल्याउन ताकेता गर्दै आएको छ। सरकारले प्रेरणालाई २०७७ पुस ७ मा अन्तिम पटक ६ महिनाका लागि उक्त घरजग्गा प्रयोग गर्न दिने निर्णय गरेको थियो। तर उनले अहिलेसम्म घरजग्गा छाडेकी छैनन्।

छाउनीस्थित एक अर्ब २० करोड रुपैयाँबराबरको सो सम्पत्ति नेपाल ट्रस्टमातहत ल्याउन सरकारले एक वर्षअघि थालेको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। ‘नेपाल ट्रस्टले त्यहाँको घरजग्गा खाली गराई आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन भनेर गृह मन्त्रालयलाई पत्राचार गरेको छ, सायद चाडै नै खाली हुनेछ,’ नेपाल ट्रस्टका प्रवक्ता लोक न्यौपानेले भने।

उनका अनुसार प्रेरणालाई त्यहाँको घरजग्गा खाली गरिदिन पटकपटक सूचना दिएको छ। प्रेरणाले अटेर गरेपछि ट्रस्टले गृह मन्त्रालयलाई जग्गा खाली गराइदिन र सुरक्षा व्यवस्था मिलाइदिन पत्राचार गरेको उनले बताए। ‘नेपाल ट्रस्टले घरजग्गा खाली गर्न दिएको समयसीमा सकिएको छ। समयसीमा सकिँदा पनि खाली नभएका कारण गृह मन्त्रालयलाई पत्रचार गर्नुपरेको हो’, प्रवक्ता न्यौपानेले भने।

राजा वीरेन्द्र शाहका नाममा रहेको उक्त घरजग्गा ज्ञानेन्द्रले छोरी प्रेरणालाई दाइजो दिएका थिए। २०५८ जेठ १९ को दरबार हत्याकाण्डमा वीरेन्द्रको वंश नाश भएपछि उनका भाइ ज्ञानेन्द्र राजा भएका थिए। नेपालमा गणतन्त्र स्थापनापछि २०६४ सालमा सरकारले राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारका सदस्यका नाममा रहेको सबै सम्पत्ति नेपाल ट्रस्टका नाममा ल्याउने निर्णय गरेको थियो। त्यसको सात वर्षपछि २०७१ सालमा प्रेरणाले सर्वोच्च अदालतमा सरकारको उक्त निर्णयविरुद्ध मुद्दा हालेकी थिइन्। मुद्दा लम्बिँदै जाँदा उक्त सम्पत्ति ट्रस्टका नाममा ल्याउन विलम्ब भएको हो।

आफूले दाइँजोमा पाएको घरजग्गा ट्रस्टका नाममा नजाने उनको दाबी थियो। सर्वोच्च अदालतले २०७६ माघ २४ मा आएर उक्त घरजग्गा ट्रस्टकै हुने फैसला सुनाएको थियो। प्रेरणाले २०६२ जेठ ४ गते नै उक्त घरजग्गा आफ्नो नाममा नामसारी भएको भनेर मुद्दा हालेपछि लामो समयसम्म कानुनी लडाइँ चलेको हो। उनले २०६४ सालमा मात्रै नेपाल ट्रस्टसम्बन्धी कानुन आएको र त्यसअघि नै आफ्नो नाममा उक्त घरजग्गा नामसारी भएकाले त्यो ट्रस्टको हुन नसक्ने दाबी लिएकी थिइन्। सुरुमा अदालतले प्रेरणाकै पक्षमा फैसला दिएको थियो।

२०७२ असार ६ गते तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रशमशेर राणाको संयुक्त इजलासले प्रेरणाको पक्षमा फैसला दिएपछि उनी ढुक्क भएकी थिइन्। संयुक्त इजलासले पहिले नै दाइजोमा दिइसकेको सम्पत्ति पछि बनेको कानुन अनुसार राज्यका नाममा ल्याउने मन्त्रिपरिषद्को निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको फैसला सुनाएको थियो।

त्यो फैसलाको व्यापक विरोध भयो। नेपाल ट्रस्टले पनि सर्वोच्च अदालतमा फैसला पुनरवलोकनको माग गर्दै निवदेन दियो । न्यायाधीशत्रय विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले फैसलामा पुनरवलोकन हुने निर्णय दियो। २०७३ पुस २१ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले उक्त घरजग्गा नेपाल ट्रस्टकै नाममा हुने फैसला गर्‍यो। ‘सो सम्पत्ति पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा दर्ता नै नभएकाले उनले दाइजो दिन नै मिल्दैन,’ पूर्ण इजलासको फैसलामा भनिएको थियो।

पूर्ण इजलासको फैसलापछि प्रेरणा ट्रस्ट नै खारेजी हुनुपर्ने मागसहित फेरि अदालतम पुगिन्। उनले फैसला आफ्नो पक्षमा नआएपछि नेपाल ट्रस्ट नै खारेज गर्ने मागसहित २०७५ पुसमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गरेकी हुन्। संवैधानिक इजलासले उनको रिटलाई २०७६ साल माघ २४ मा खारेज गरिदियो। त्यसपछि ट्रस्टले ३५ दिने सूचना निकालेर प्रेरणालाई घरजग्गा खाली गर्न भनेको थियो। उनले घरजग्गा खाली गर्न केही समय लाग्ने भन्दै समय मागेकी थिइन्।

ट्रस्टका नाममा २१ हजार पाँच सय रोपनी

नेपाल ट्रस्टले ६ वर्षअघि सार्वजनिक गरेको श्वेतपत्रअनुसार विभिन्न १२ जिल्लामा ट्रस्टका नामा २१ हजार ५ सय ६२ रोपनी जग्गा छ। त्यसमध्ये करिब एक सय ७२ रोपनीमा मोहीले खेती गरिरहेका छन्। ट्रस्टले २०६९ भदौमा मोहीका नाममा कायम भएको जग्गा फिर्ताका लागि सार्वजनिक तथा सार्वजनिक सम्पत्ति छानबिन आयोगमा निवेदन दिएको थियो।

ट्रस्टको चल सम्पत्ति ७८ करोड नौ लाख ७७ हजार सात सय ९३ रूपैयाँ, एक लाख ४८ हजार पाच सय ८१ अमेरिकी डलर र ५० हजार १२४ ब्रिटिस पाउण्ड छ। यसैगरी नबिल बैंकको पाँच लाख ३३ हजार दुई सय ४४ कित्ता, होटल डेला अन्नपूर्णको ३० हजार सात सय २० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६ हजार सात सय ५० कित्ता सेयर नेपाल ट्रष्टका नाममा छ।

ट्रस्टका नाममा भएको ६ स्थानको सम्पत्ती लिजमा छन्। तत्कालीन राजपरिवारबाट ट्रस्टका नाममा आएको गोकर्ण, कमलादी, टेकु, लाजिम्पाट र ताहचल (दुई स्थान) लिजमा दिइएको श्वेतपत्रमा दिइएको छ।

प्रकाशित: १२ श्रावण २०८२ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App