सुर्खेतको भेरीगंगा नगरपालिका–५ स्थित बबई चेकपोस्टमा प्रहरीले बिल–भरपाईविहीन १ लाख १३ हजार ७ सय रुपैयाँ बराबरका विभिन्न अवैध सामान बरामद गरेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र अस्थायी प्रहरी पोस्ट बबईबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको ना.४ ख ३४६० नम्बरको बसलाई रोकी नियमित चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा बसबाट बिल–भरपाई नभएका मोबाइलका ग्लास, मोबाइल डिस्प्ले, लावा कम्पनीका किप्याड मोबाइल, बेन्को कम्पनीका टच मोबाइल, टेक्नो कम्पनीका स्क्रिन टच मोबाइल, रियलमी नोट टच मोबाइल तथा मोटरसाइकलका ब्रेक प्याड र लिक्विड बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेलले बताए।
बरामद सामानको कुल अनुमानित मूल्य १ लाख १३ हजार ७ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी अस्थायी प्रहरी पोस्ट बबई, सुर्खेतमा सुरक्षित राखिएको छ भने बसलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: १६ असार २०८३ १८:५२ मंगलबार





