१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

राजतन्त्र मैले फालेको हुँ, अब ल्याउने पनि मै हुँ: दुर्गा प्रसाईं

कुनैबेला राजतन्त्रविरुद्ध आन्दोलन गर्दा सैनिक हिरासत भोगेको बताउने मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अहिलेका राजनीतिक दलहरू असफल भएको र अब राजसंस्था पुनर्स्थापना गर्ने जिम्मेवारी पनि आफ्नै काँधमा आएको दाबी गरेका छन्।

उनले आफू परम्परागत राजावादी नभई राष्ट्रवादी भएको तर देश बचाउन राजालाई फर्काउन आफू तयार रहेको घोषणा गरेका हुन्।

गत चैत १५ गतेको तीनकुने घटनापछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै प्रसाईंले भने, ‘मै हुँ राजसंस्था फ्याँक्ने मान्छे, ६ महिना सैनिक हिरासत बसेको मान्छे पनि मै हुँ।’ उनले विगतमा राजालाई हटाउनुलाई आफूले ‘धर्म निभाएको’ बताउँदै थपे, ‘सरकार (राजालाई सम्बोधन गर्दै), हिजो तपाईंलाई फ्याँक्न हामी सैनिक हिरासत बस्यौं, तपाईंलाई फ्याक्यौं, हामीले धर्म निभायौं। तर अब तपाईंलाई ल्याउन यिनीहरू (दलहरू) बाट काम लाग्ने रहेनछ, हामी ल्याउन तयार छौं भनेकै हो।’

‘राजावादीले नै आन्दोलन बिगारे’

उनले चैत १५ को आन्दोलन राजावादीहरूले नै बिगारेको आरोप लगाए। ‘१५ गतेको आन्दोलन कसले बिगारेको ? राजावादीहरूले !’ उनले भने, ‘धवलशमशेर र रवीन्द्र मिश्रहरू एक घण्टा अगाडि नै गएर मञ्चमा आसन ग्रहण गर्ने, अनि आन्दोलन भाँडिएपछि हामी त पाहुना गएको, दुर्गा प्रसाईंले गरेको आन्दोलन भन्ने ? यस्तो पनि हुन्छ ?’

उनले आफू राजावादी वा राप्रपा नभएको स्पष्ट पार्दै भने, ‘म राष्ट्रवादी हुँ। राजा पनि राजावादी होइनन्, राष्ट्रवादी हुन्।’

प्रसाईंले राजालाई भगवान रामसँग तुलना गर्दै आफूहरूले भरतले जस्तै खरौ (खराउ) राखेर देश चलाउन तयार रहेको बताए। ‘राजा र देउता आफ्नो ठाउँमा छन्, हृदयमा छन्,’ उनले भने, ‘भगवान रामचन्द्र जंगल जाँदा भरतले नि खरौ राखेर देश चलाएको थियो नि, इतिहास छ नि त !’

प्रकाशित: २ भाद्र २०८२ १६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App