२६ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

कुलेश्वरमा फलफूल पसलदेखि डेरासम्म लुकाइएको ठूलो रकम बरामद, सञ्चालक पक्राउ

काठमाडौंको कुलेश्वरबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद बरामद गरेको छ। काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरमा गरिएको कारबाहीका क्रममा प्रहरीले ७६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–१ घर भएका ३३ वर्षीय जितेन्द्र साह तुरहा रहेका छन्। उनी कुलेश्वरस्थित आँचल फ्रुट सेन्टरका सञ्चालक हुन्।

उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनको फलफूल पसल तथा डेरामा खोजी गर्दा रकम फेला पारेको हो।

प्रहरीका अनुसार फलफूल पसलबाट मात्रै १० लाख ७० हजार रुपैयाँ बरामद भएको छ। बाँकी रकम उनको डेरामा फेला परेको हो। डेरामा लुकाएर राखिएको अवस्थामा ३ लाख ४ हजार भारतीय रुपैयाँसमेत बरामद भएको काठमाडौंका एसएसपी दिलीप घिमिरेले बताए।

उनका अनुसार घटनाबारे प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २६ श्रावण २०८३ २०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App