२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

मृतक गणेश यादवका परिवारलाई भेट्न गृहमन्त्री गुरुङ आज सिरहा आउन सक्ने

सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका धनगढीमाई नगरपालिका–तुलसियाहीका गणेश यादवका परिवारलाई भेट्न गृहमन्त्री सुदन गुरुङ आज सिरहा आउने तयारी रहेको बुझिएको छ।  

तर उनको भ्रमण कार्यक्रमबारे औपचारिक पुष्टि भने भइसकेको छैन। गोलबजारमा बिहीबार उत्पन्न तनावका क्रममा प्रहरीको गोली लागेर रामवृक्ष यादवका छोरा गणेश यादवको मृत्यु भएको थियो। घटनापछि मृतकका परिवारलाई भेट्न र अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ सिरहा जाने तयारीमा रहेको स्रोतले जनाएको छ।

यसअघि बिहीबार राति गृहमन्त्री गुरुङले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज पुगेर त्यहाँका मृतकका आफन्तसँग भेटवार्ता गरेका थिए। उनको उपस्थितिमा पीडित पक्ष र प्रशासनबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षर समेत भएको थियो।

कप्तानगञ्जबाट वार्ता सकेर गृहमन्त्री विराटनगर पुगेका छन्। केही समय विराटनगरको बसाइँपछि आउने कार्यतालिका रहेको बताइए पनि यसको आधिकारिक पुष्टि भएको छैन।

मधेश प्रदेश प्रहरी कार्यालयका डिआइजी ओम अधिकारीले गृहमन्त्री सिरहा आउने चर्चा आफूले पनि सुनेको तर हालसम्म औपचारिक जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका छन्।

सिरहाको घटनापछि स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ श्रावण २०८३ १०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App