१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

हिमाली भेगमा हतारको यात्राले ज्यानकै जोखिम

गत वर्ष २५ जनाको लेक लागेर ज्यान गयो

पदयात्रामा कहलिएको अन्नपूर्ण क्षेत्रको पदमार्ग। तस्बिरः नागरिक

लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत आर्थिक वर्ष स्वदेशी र विदेशी गरि २५ जनाको ज्यान गएको छ। ती मध्ये अधिकांश पदयात्रामा गएका विदेशी पदयात्री छन्। अन्नपूर्ण क्षेत्रभित्रका हिमाली भेगमा पदयात्रा तथा घुमघामका लागि गएका ती पर्यटकले लेक लागेर ज्यान गुमाएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।  

एक्यापको तथ्यांकका अनुसार पछिल्लो तीनवर्षमा अन्नपूर्ण क्षेत्रमा लेक लागेर सबैभन्दा बढि भारतीय र त्यसपछि नेपाली पर्यटकको ज्यान गएको छ। एक्यापका अनुसार आर्थिक वर्ष २०८२/८३ मा लेक लागेर १२ जना नेपाली, ९ जना भारतीय, जापान, मेक्सिको, स्पेन, सिंगापुरका एक–एकजनाको ज्यान गएको एक्यापका आयोजना प्रमुख डा. रविन कडरियाले जानकारी दिए।

उनका अनुसार अन्नपूर्ण क्षेत्रभित्रको अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा एकजनाको ज्यान गएको हो। त्यस्तै १५ जनाको मुस्ताङमा ज्यान गएको हो। मर्दी हिमाल पदमार्ग क्षेत्रमा एकजना विदेशी र मनाङमा आठजनाको ज्यान गएको एक्यापले बताएको छ।  

‘छोटो समयमा उच्च हिमाली भेगसम्मको यात्रा गर्दा बढि जोखिमपूर्ण बनेको छ। सडकको पहुँच सहज हुनासाथ मान्छेको आउजाउको समय छोटिएको र त्यसले गर्दा लेक लाग्ने जोखिम बढ्दै गएको हो,’ कडरियाले भने, ‘यसतर्फ सचेत नहुने हो भने जोखिम अझै बढ्न सक्छ।’

एक्यापका अनुसार पछिल्लो तीनवर्षमा भएका घटनामध्ये यो नै बढि मृत्यु संख्या हो। आर्थिक वर्ष २०८०/८१ मा मात्र अन्नपूर्ण क्षेत्रमा पाँचजना नेपाली, ११ जना भारतीय, बेलायत र यूक्रेनका १–१ तथा युक्रेनका २ जना गरेर २० जना पर्यटकको ज्यान गएको थियो।

त्यसैगरि आर्थिक वर्ष २०८१/८२ मा पनि ६ जना नेपाली, ९ जना भारतीय, अमेरिका, कोरिया, जर्मन, स्वीजरल्याण्डका एक–एकजना गरेर १९ जनाको ज्यान गएको थियो। तीनवर्ष अवधिमा सबैभन्दा बढि २९ जना भारतीय पर्यटकको लेक लागेर ज्यान गएको छ। त्यस्तै यही अवधिमा २३ जना नेपालीको पनि लेक लागेर ज्यान गएको छ।

गत आर्थिक वर्षमा ८ जना भारतीय र ४ जना नेपालीले मुक्तिनाथ क्षेत्रमै लेक लागेर ज्यान गुमाएका थिए। पाको उमेरका भारतीय र नेपाली पर्यटक मुक्तिनाथ दर्शन गर्न जाने हुँदा त्यस क्षेत्रमा मानवीय क्षति पनि बढि हुने गरेको एक्यापको भनाई छ। मनाङमा ज्यान गुमाएका मध्ये तीनजना नेपाली गाइड हुन। उनीहरुले मनाङको नार–फू मा ज्यान गुमाएका थिए।

‘जब सडकको पहुँच पुग्यो, लेक लागेर ज्यान गुमाउनेको संख्या पनि थपिन थाल्यो। सहज यात्रासँगै हतारको यात्राले वर्षेनी धेरैको ज्यान लिएको छ,’ उनले भने, ‘लेक लागेर ज्याने जाने यो संख्यालाई कम गर्न सबैभन्दा पहिला व्यक्ति नै सचेत हुनुपर्छ। पदयात्रामा गएको हरेक व्यक्ति सचेत हुने हो भने यस्ता घटना कम हुँदै जान्छन।’

उनका अनुसार नेपाली र भारतीय पर्यटकले पदयात्रा क्षेत्रमा हतारको यात्रा रोज्ने गर्छन। छोटो समयमा यात्रा पुरा गर्ने हतारोले गर्दा यस्ता घटनामा नेपाली र भारतीय पर्यटक पर्ने गरेको पनि उनले बताए। तेश्रो मुलुकका विदेशी नेपालको पदयात्रा क्षेत्रमा जाँदा सबै सूचना लिएर जाने र यात्रा अवधिलाई हतारमा पुरा नगरि लामो अवधि लगाएर दूरी तय गर्ने गर्दा क्षति कम हुने गरेको कडरियाले बताए।

‘अन्नपूर्ण फेरोको यात्रालाई पुरा गर्दा तेश्रो मुलुकका विदेशीले अहिले पनि कम्तिमा १० दिन लगाउँछन। तर, भारतीय र नेपाली पर्यटक दुई–तीनदिनमा यात्रा पुरा गर्न खोज्दा जोखिम बढेको हो,’ उनले भने। उनका अनुसार लम्जुङको बेशीसहरबाट सुरु हुने अन्नपूर्ण फेरोको पदयात्रा थोराङला भञ्ज्याङ पारे गरेर मुस्ताङ निस्कँदा तेश्रो मुलुकका विदेशीले १० दिन लगाउँछन। तर, भारतीय र आन्तरिक पाहुना बेशीसहरबाट एकैदिनमा माथिल्लो मनाङ पुग्ने र भोलिपल्ट थोराङ पार गरेर मुक्तिनाथ ओर्लिने प्रयास गर्छन। हतारको यस्तो यात्रा जोखिमपूर्ण बन्ने गरेको उनले सुनाए। ‘शरिरलाई आराम दिएर उचाईसँग अनुकुल हुँदै पदयात्रा गर्नुपर्नेमा हतार गर्दा जोखिम थपिएको हो,’ उनले भने।

त्यस्तै मुक्तिनाथसम्मको यात्रामा पनि पछिल्लो समय हतारमा हुने गरेको छ। पोखरा आएका भारतीय पाहुना रातारात यात्रा थालेर मध्यान्हसम्म मुक्तिनाथ पुगेर बेलुकी पोखरासम्म फर्किने गर्छन। त्यसले गर्दा जोखिम बढेको उनले बताए। 

‘तेश्रो मुलुकका विदेशी नेपाल आउँदा पूर्ण रुपमा तयार गरेर जान्छन। ती विदेशी एकैपटक तिलिचो र मुक्तिनाथ जाँदैनन। बिचमा बास बस्दै बिस्तारै बिस्तारै उकालो लाग्छन। तर,नेपाली र भारतीयले छोटो समयमा ती दूरी तय गर्न खोज्दा यात्रामै अस्ताउने अवस्था आएको हो,’ उनले भने।

कडरियाका अनुसार तेश्रो मुलुकका विदेशी त पदयात्रा अवधिलाई अझ सुरक्षित बनाउन बिमा समेत गरेर आउँछन। केही गरि बिरामी परिहालेको खण्डमा हेलिकप्टरबाट उद्धार गरेर सुरक्षित बन्ने गरेका छन्। ‘सबैभन्दा महत्वपूर्ण भनेकै यात्रालाई सुरक्षित बनाउने हो। गन्तव्यमा हतार नगरि कम्तिमा एकरात बस्ने हो भने पनि क्षति घट्न थाल्छ। त्यहाँको प्रकृतिसँग रमाएर एकरात बिताउँदा सुरक्षित पनि भइन्छ,’ उनले भने, ‘यो बारेमा हामीले सूचना दिएकै छौ। तर बेवास्ता भएकोले यस्तो समस्या थपिएको हो।’ लेक लाग्ने यो समस्याबाट जोगिने भनेको सबैभन्दा पहिले व्यक्ति सचेत हुनुपर्ने उनले बताए।

पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेल पनि उच्च हिमाली भेगसम्मको यात्रा निकै नै जोखिमपूर्ण बन्नुमा हतारको यात्रा रहेको बताउँछन्। ‘व्यवसायी पनि यसबारेमा सचेत हुनुपर्छ। पर्यटक स्वयं पनि यस्ता जोखिमप्रति सचेत बन्नैपर्छ। हतारको यात्राले ज्यानै जाने त्रास भएपछि ख्याल गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘बोर्डले यसबारेमा पनि काम गरिरहेको छ। स्थानीय प्रहरीसँग सहकार्य गरेर पर्यटकलाई हतारमा यात्रा नगर्न भन्दै सचेत गराउने गरिएको छ।’

एक्याप प्रमुख कडरियाले हतारमा यात्रा नगर्न, उचाईसँग अभ्यस्त हुँदै पदयात्रा गर्न पर्यटकलाई आग्रह गर्दै आएको समेत कडरियाले बताए। हतारको यात्राले जोखिम निम्त्याउने भन्दै एक्यापका चेकपोष्टमा यसबारेमा जानकारी दिने गरेको समेत उनले बताए।  

प्रकाशित: १० श्रावण २०८३ १७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App