गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको ६३औँ प्रतिवेदनमा उल्लेख छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल एकिन हुन नसकेको महालेखापरीक्षकको कार्यालयको ६३औँ प्रतिवेदनको सारांशमा लेखिएको छ।
संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ। संस्थानमा रहेको जग्गामध्ये धनुषा जिल्लामा ४३.५ बिघा, महोत्तरीमा १२२ बिघा, बारामा २७ बिघा, पर्सामा सात बिघा तथा काठमाडौंमा १४ रोपनी, ललितपुरमा १२ रोपनी र भक्तपुरमा दुई रोपनी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ।
संस्थानले यसको पूर्ण लगत तयार नगरेकाले तयार गर्न र अन्य जिल्लामा अतिक्रमण भएको जग्गाको एकीकृत तथा अद्यावधिक लगत तयार गरी अतिक्रमित जग्गााको संरक्षण गरिनुपर्छ। संस्थान कार्यव्यवस्था विनियम, २०४९ को १७ (१) बमोजिम अधिकार क्षेत्रभित्रको जग्गासम्बन्धी छुट्टै लगत तयार गरी अद्यावधिक गर्नुपर्ने व्यवस्था छ।
संस्थानले विभिन्न ६८ जिल्लाअन्तर्गत पहाडमा पाँच लाख ६१ हजार ९९० रोपनी र तराईमा ६६ हजार ३२० बिघा जग्गा गुठीको नाममा रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित: ३ जेष्ठ २०८३ ०६:३३ आइतबार





