ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षाका कारण बन्द भएको काठमाडौंबाट पश्चिमतर्फका सडक तत्कालै खोल्ने गरी तयारी भइरहेको बताएका छन्। विपद्बाट क्षतिग्रस्त विभिन्न सडकको मर्मत कार्य तीव्र गतिमा गरिने उनको प्रतिबद्धता छ।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले नेपालको पूर्व क्षेत्रमा अझै पनि वर्षा हुनेक्रम जारी रहेकाले वर्षा कम भएपछि मात्रै सडक सुधारको कार्य थालिने बताए। जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि भने मौसममा सुधार भई वर्षा कम हुने जानकारी गराएको छ ।
शुक्रबारदेखि आइतबारसम्मको लगातार भारी वर्षा र जलवायुजन्य घटनाका कारण देशका विभिन्न स्थानमा उत्पन्न भूस्खलन र बाढीले सडकमा अवरोध तथा यातायातमा ठूलो असर परेको मन्त्री घिसिङको भनाइ छ। “प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति र उपकरण परिचालन गर्दै, प्रमुख राजमार्गका अवरुद्ध खण्डमा दिनरात मर्मत कार्यलाई तीव्र गति दिइरहेको छ”, उनले भने।
विपद्का कारण केही भौतिक क्षति भए पनि सरकारको पूर्वतयारीका कारण ठूलो मानवीय क्षति भने हुन नपाएको मन्त्री घिसिङले दाबी गरे। काठमाडौंदेखि पश्चिम मुग्लिन हुँदै पोखरा र नारायणगढ जाने पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन राजमार्गमा यातायात सञ्चालनमा अवरुद्ध नभएको सडक विभागको भनाइ छ।
विभागका महानिर्देशक विजय जैसीले बिपी राजमार्ग (भकुण्डेबेंसी–नेपालथोक खण्ड) र मेची राजमार्गको अवरोध हटाउने कार्यमा पनि चाँडै प्रगति हुने बताए। सडक विभागले स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र स्थानीय निकायसँग समन्वय गरी मर्मत तथा सडक खोल्ने कार्यलाई तीव्रता दिएको उनको भनाइ छ। -रासस
प्रकाशित: १९ आश्विन २०८२ १६:४४ आइतबार


-600x400.jpg)


