सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुमबासी परिवारलाई उनीहरूको स्थायी ठेगाना रहेको गृहजिल्लामै फर्काउने तयारी गरेको छ। पछिल्लो समय विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई सम्बन्धित जिल्ला समिति वा स्थानीय तहसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
भूमि समस्या समाधान समितिले बुधबार जारी गरेको सूचनाअनुसार, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा पहिचान भएका २९ परिवारलाई जग्गा व्यवस्थापनका लागि सम्बन्धित जिल्लामा सम्पर्क गर्न भनिएको हो।
समितिका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार ती परिवारको नाममा नेपालभर कतै घरजग्गा भए–नभएको विषयमा भूमि व्यवस्थापन तथा अभिलेख विभागमार्फत जाँच गरिएको थियो। विभागको प्रतिवेदनमा उनीहरूको नाममा कुनै पनि जग्गा नरहेको पुष्टि भएपछि सम्बन्धित गृहजिल्लामा जग्गा उपलब्ध गराउने सिफारिस गरिएको हो।
समितिले ती परिवारको डिजिटल विवरण, आवेदन फारम र अन्य आवश्यक कागजातसहितको फाइल सम्बन्धित जिल्ला समितिमा पठाइसकेको जनाएको छ।
समितिले सार्वजनिक गरेको नामावलीअनुसार लाभग्राही परिवारका स्थायी ठेगाना सिन्धुली, सर्लाही, काठमाडौं, सुनसरी, धनकुटा, मोरङ, सिन्धुपाल्चोक, महोत्तरी, झापा, भोजपुरलगायतका जिल्लामा रहेका छन्।
हाल ती परिवार बनेपास्थित रेडक्रस तालिम केन्द्र, कीर्तिपुरस्थित राधास्वामी सत्संग, नगरकोटस्थित खानेपानी तालिम केन्द्र तथा भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रमा सञ्चालन गरिएका होल्डिङ सेन्टरमा अस्थायी रूपमा बसोबास गर्दै आएका छन्।


प्रकाशित: ६ श्रावण २०८३ १५:१४ बुधबार





