रौतहटको माधव नारायण नगरपालिकामा सरकारले बनाएको घर एक महिना नबित्दै भत्किन सुरु भएको छ । मदन भण्डारी आवास योजना अन्तर्गत निर्माण गरिएका घरहरू एक महिना नबित्दै भत्किन थालेको हो ।
मधेस प्रदेश सरकारले असार महिनाको अन्तिममा आएर बजेट सिद्ध्याउन धमाधम निर्माण गरेको घर दुई दिनकै वर्षातमा भत्किन सुरु गरेको छ । माधव नारायण नगरपालिका- १ गढोमा मधेस प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत निर्माण गरिएका घरहरू एक महिनाभित्र भत्किन थालेपछि स्थानीय चिन्तित बनेका छन् ।
सरकारको कार्यविधिमा उपभोक्ता समितिमार्फत निर्माण गराउनु पर्ने घरलाई कागजमा उपभोक्ता समिति राखिएको तर ठेकेदारमार्फत नै घरहरू बनाउन सुरु गरिएको गुनासो रहेको छ । मदन भण्डारी आवास योजनामा पूर्वाधार विकास कार्यालय रौतहटका इन्जिनियर रामबाबु प्रसादले कमिसनकै भरमा सबै कागजपत्र मिलाइदिने र रकम निकासा गरिदिएका कारण भवन निर्माणमा चरम लापरबाही देखिएको हो ।
इन्जिनियर रामबाबु प्रसादले नै निर्माणसम्बन्धी सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिएको र गुणस्तरहीन सामग्रीको प्रयोगका साथै कार्यविधि विपरीत घर निर्माण हुँदा पनि रकम निकासा दिएको कारण केही भवनहरु निर्माणकै क्रममा भत्किन सुरु भएको हो । गत असार मसान्तसम्म निर्माण भइसक्नुपर्ने घरहरूमध्ये केही घर अझै पनि निर्माणकै क्रममा रहेको र सोही क्रममा भत्किन सुरु भइसकेको छ ।
मदन भण्डारी आवास योजनाअन्तर्गत गढोमा निर्माण भएका घरहरू गुणस्तरहीन सामग्रीले बनेका हुनाले उक्त आवासमा बस्नेहरूको ज्यानसमेत जोखिममा रहेको माधव नारायण नगरपालिकाका एक पूर्व वडाध्यक्षको आरोप रहेको छ ।
गढोमा मदन भण्डारी आवास योजनाअन्तर्गत भएको घर निर्माणको सम्पूर्ण प्रक्रियालाई नै अनुसन्धान गर्नुपर्ने र दोषीलाई कडा सजाय दिनुपर्ने माग स्थानीयले गरेका छन् ।
प्रकाशित: २१ श्रावण २०८२ १८:०१ बुधबार





