२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

सुन तस्करी सूचना दिनेलाई नै मुद्दा

सुनको अवैध पैठारी (तस्करी) को ‘कनेक्सन’ खुलाउने कर्मचारीलाई नै तस्करीमा संलग्न रहेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरासहित तत्कालीन माओवादी केन्द्रका नेताहरूको उक्त धन्दामा ‘कनेक्सन’ खुलाउने कर्मचारीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो।

२०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङले लगेजमा राखी भेपभित्र लुकाएर ल्याएको करिब नौ किलो सुनका बारेमा अनुसन्धान गर्न अनुरोध गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृतहरू मुक्तिप्रसाद श्रेष्ठ र अम्बिकाप्रसाद खनालले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्राचार गरेका थिए। पोखरेलसहित यी कर्मचारीले सिआइबीसहित माथिल्लो तहमा खबर नगरेको भए भेपभित्र लुकाएर भइरहेको सुन तस्करीको घटना सतहमा आउने थिएन र माओवादी नेता महरा र चिनियाँ नागरिकहरूबारे थप खुलासा हुने नै थिएन। तिनै पोखरेलसहित केही कर्मचारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

यसरी घटनाको साढे दुई वर्षपछि अख्तियारले तस्करीको लिखित सूचना र प्रतिवेदन दिने ती कर्मचारीहरूलाई नै तस्करीमा संलग्न भएको आरोपसहित भ्रष्टाचार मुद्दा दायर गरेपछि कर्मचारी वृत्तमा हलचल पैदा भएको छ। अख्तियारले मुद्दा दायर गरिएका ती कर्मचारीहरू सुन तस्करीको सूचनादाताका रूपमा साक्षी छन्। उनीहरूले अदालतमा बयान दिइरहेका छन्। अख्तियारले आफूहरूलाई समेत दोषी देखाएर विशेष अदालतमा मुद्दा दायर गरेपछि अन्यायको महसुस भएको उनीहरूले बताएका छन्।

यसअघि सिआइबीले जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दामा प्रमुख भन्सार प्रशासक अरुण पोखरेलको जाहेरीले नै मुद्दा अघि बढेको भनी उल्लेख गरेको थियो। पोखरेल र अन्य कर्मचारी जाहेरीकर्तासँगै सरकारी साक्षीसमेत रहेका छन् तर अख्तियारले आरोपपत्रमा तत्कालीन भन्सार प्रमुख पोखरेलमाथि आफ्नो ‘आपराधिक जिम्मेवारीबमोजिम सम्पर्क स्थापित गरी योजनाबद्ध रूपमा कसुर गर्नेगराउने मनशायले ७३ वटा बट्टामा रहेको भेपभित्र रहेको सुन बेचबिखन गरी कसुरजन्य कार्य गरेको’ आरोप लगाउँदै मुद्दा दायर गरिएको हो।

अख्तियारले गत चैत २६ गते पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुलसहित २९ जनामाथि मुद्दा चलाउँदा त्रिभुवन विमानस्थल भन्सारका प्रमुख प्रशासक पोखरेलसहितका कर्मचारीहरू पनि आरोपित भएका हुन्।

 अख्तियारले ती कर्मचारीहरूमाथि भेपमा लुकाइएको सुन पत्ता लगाउन नसकेको आरोप लगाएको छ। सुन ल्याउनेहरूमाथि तस्करी गरेर मतियारको भूमिका खेलेको आरोप उनीहरूमाथि लगाइएको छ।

अख्तियारले विमानस्थल भन्सार कार्यालयमार्फत भएको उक्त तस्करीमा कर्मचारी र राजनीतिक नेतृत्वको ‘सेटिङ’ पुष्टि भएको दाबी गरेको छ। अख्तियारले करिब सात करोड ७९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै सूचनादाता र सिआइबीमार्फत अनुसन्धान गर्न आग्रह गर्ने कर्मचारीहरूविरुद्ध मुद्दा चलाएको देखिन्छ । अख्तियारले भन्सारका १० जना कर्मचारी र पूर्वसभामुख महरासहित १९ जना अन्य गरी कुल २९ जनालाई प्रतिवादी बनाएको छ। आरोपीहरूविरुद्ध जनही सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बिगो कायम गरिएको छ।

अख्तियारको अनुसन्धानले पूर्वसभामुख महराले सुन तस्करसँग गरेको मिलेमतोमा भन्सारका अधिकारीहरूलाई अनुचित प्रभावमा पारेको निष्कर्ष निकालेको छ। अभियोगपत्रमा भनिएको छ, ‘प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरा तथा निजमार्फत निजको छोरा राहुल भन्ने रेशम महराले चिनियाँ नागरिकहरूलगायतका प्रतिवादीहरूसँगको मिलेमतो तथा योजनामा अस्वाभाविक चलखेल गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख प्रशासक अरुण पोखरेललगायतका अन्य राष्ट्रसेवक प्रतिवादीहरूलाई प्रभावमा पारी सुनसमेतका सामग्रीहरू गैरकानुनी तवरबाट भन्सार कार्यालयबाट लिई जाने बदनियतले पटक–पटक भेटघाट तथा फोन सम्पर्क गरेको पुष्टि हुन आएको छ।’

के भएको थियो घटना?

सुनसहितको भेप विमानस्थल भन्सार कार्यालयले बरामद गरी राखेको अवस्थामा चोरी भएको थियो। २०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ ली हानसोङले लगेजमा राखी भेपभित्र करिब नौ किलो सुन लुकाएर ल्याएका थिए। विमानस्थल भन्सार कार्यालयले बरामद गरिराखेको अवस्थामा ७३ वटा बट्टामा राखिएका सुन लुकाइएका सात सय ३० वटा भेप गायब भएपछि सहसचिव पोखरेलको टिमले सिआइबीमा पुगेर अनुसन्धानका लागि आग्रह गरेको थियो। त्यसको अनुसन्धान सिआइबीका डिएसपी दुर्गा दाहालले गरेका थिए । उनले नै नौ किलो सुन तस्करीमा महराको ‘कनेक्सन’ खुलाएका थिए।

तस्करीमा संलग्नहरूले दुबईबाट त्रिभुवन विमानस्थल हुँदै भन्सार गोदामसम्म सुन ल्याएको सुन चोरी भएपछि विमानस्थल प्रशासनले सिआइबीको साथ लिएर अनुसन्धान गरेको थियो। चिनियाँ राहदानी इजे ६३५००३० वाहक ली हानसोङ दुई वटा सुटकेसभित्र सुन राखिएको भेपसहित दुबईबाट काठमाडौं आएका थिए। त्यसलगत्तै भेप जाँचपास गराएर आफूलाई फलफूल व्यापारी दाबी गर्ने दावाजिन वाङलाई हस्तान्तरण गर्ने तयारी भएको थियो तर उक्त तयारी सफल हुन सकेन। दावाजिन पूर्वसभामुख महरासँग जोडिएका शंकास्पद पात्र हुन्। सामान शंकास्पद देखिएपछि त्यही दिन विमानस्थल भन्सार कार्यालयले सामान नियन्त्रणमा लिएको थियो। त्यसको केही दिनमै हानसोङ फरार भएका थिए। सुनका मालिक दावाजिन वाङले पूर्वसभामुख महरा र उनका छोरा राहुलमार्फत भन्सारमा रोकिएका सामान छुटाउन प्रयास गरेका थिए तथ त्यो सफल हुन सकेन। त्यसक्रममा महरा बाबुछोराले भन्सारका कर्मचारीसहित विभिन्न व्यक्ति र चिनियाँ तस्करसमेतलाई विभिन्न समयमा दुई सय ५६ पटक फोन सम्पर्क गरेको सिआइबीले अनुसन्धानका क्रममा पत्ता लगाएको थियो।

भन्सारले भेप नियन्त्रणमा लिएपछि तीन दिनपछि पुस १३ मा महराका बाबुछोराले पालैपालो भन्सारका कर्मचारीलाई फोन गरेर छुटाउन दबाब दिएका थिए। त्यतिन्जेल भेपमा सुन राखिएको विषय सार्वजनिक भएको थिएन। भेप गोदाममा सिल गरेर राखिएको थियो। पछि भन्सारकै कर्मचारी र बिचौलियासहितको सेटिङमा गोदाममा राखिएका ती भेप चोरी भयो । चिनियाँले ल्याएको सुन भएको भेपमा अरू नै भेप राखिएको थियो। जुन कुरा भन्सार गोदामको सुरक्षार्थ खटिएका एक जना सुरक्षागार्डले सुन भएको भेप घरमा लिएर गएपछि सुन भएको तथ्य खुल्यो।

गोदाममा राखिएका सुन भएका भेप चोरीमा अनुसन्धान गर्न विमानस्थल भन्सारले २०८० वैशाख २६ मा सिआइबीलाई पत्राचार गरेको थियो। त्यसपछि भन्सारका नासु रेवन्त खड्कासहित विभिन्न व्यक्ति पक्राउ परे। अनि उनै खड्काले प्रहरीसँगको बयानमा ‘गोदाममा सुन भएका भेप भएको सुइँको पाएपछि आफूहरूकै योजनामा सुन भएका भेप निकालेर सक्कली भेप बाहिरबाट ल्याएर गोदाममा राखिदिएको’ बताएका थिए। त्यसपछि दुई महिना लगाएर सुन भएका भेप चोरीको विषयमा सिआइबीले अनुसन्धान ग¥यो। अनुसन्धानका क्रममा करिब एक सय ग्राम मात्रै सुन फेला परेको थियो। बाँकी सुन भन्सारका कर्मचारी र एजेन्टले मिलेर नौ किलो सुन गायब बनाएका थिए।

त्यसैका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०७९ असार २९ मा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा भेपमा भित्रिएको सुन भारत महाराष्ट्रका नन्दुकुमार रान्डुराम मर्गलेको भएको खुलेको थियो। चीनबाट भित्र्याएर दावाजिन वाङले भारतीय नागरिकसम्म तस्करीको सुन लैजाने योजना बनाए पनि सेटिङ बिग्रिएर यसको रहस्य बाहिरिएको थियो। मर्गलेले तस्करीबाट भित्रिएको सुन जोख्न र परीक्षण गर्न न्युरोडमा कारखाना नै खोलेको पनि भेटिएको थियो। पछि सोही प्रकरणमा महरा बाबुछोरा दुवैलाई पक्राउ गरेर मुद्दा चलाइएको थियो।

यही प्रकरणमा पूर्वसभामुख महराविरुद्ध सार्वजनिक ओहोदाको दुरुपयोग गरेर सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। महराविरुद्ध मुद्दा दायर गर्दा पोखरेललाई पनि सँगै मुद्दा लगिएको छ। सिआइबीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले असोज २९ मा दायर गरेको सुन तस्करीसम्बन्धी मुद्दामा महरा पुर्पक्षका क्रममा जेल चलान भएका थिए। जिल्लाको आदेशविरुद्ध उच्चमा गएका महरालाई मंसिर ११ गते २० लाख धरौटीमा रिहा गर्ने आदेश अदालतले दिएको थियो । २०८० चैत ५ मा पक्राउ परेका महरालाई स्वास्थ्यको कारण देखाउँदै चैत ९ मा हाजिरीजमानीमा रिहा गरिएको थियो।

प्रकाशित: ६ वैशाख २०८३ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App