५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

सुन तस्करी प्रकरण: कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न उच्चको आदेश

इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

बिहीबार उच्च अदालतका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। जिल्ला अदालतको उक्त आदेशलाई बदर गर्दै उच्च अदालतले महराको उमेर, स्वास्थ्य अवस्था र मिसिलमा देखिएका प्रमाणहरूका आधारमा थुनामा राखिराख्न नपर्ने ठहर गरेको हो।

उच्च अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादीको उमेर र स्वास्थ्य अवस्था समेतका समग्र परिस्थिति तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७२ समेतलाई विचार गर्दा हाल प्रतिवादी कृष्णबहादुर महराबाट २० लाख नगद धरौटी वा सो बराबरको जमानत लिई मुद्दा पुर्पक्षका लागि तारेखमा राख्नु।’

अदालतले महराको नाम मूल जाहेरीमा उल्लेख नभएको, सह-अभियुक्तहरूले पोल नगरेको र तत्काल प्राप्त प्रमाणहरूका आधारमा उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको (संहिताको दफा ६७ बमोजिम) उल्लेख गरेको छ।

प्रकाशित: ११ मंसिर २०८२ १५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App