२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

दुई वर्षपछि गोदावरी-खानीडाँडा सडक स्तरोन्नति

फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत गोदावरी-खानीडाँडा सडकखण्ड दुई वर्षपछि स्तरोन्नति गरिएको छ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार वर्षाका कारण पहिरोले क्षतिग्रस्त भएको कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोला क्षेत्रको सडक मर्मत गरिएको हो। सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार यादवले भने, ‘पहिरो गएको एक महिनाभित्र दुईतर्फी यातायात सञ्चालनमा ल्याइए पनि दिगो समाधानका लागि विस्तृत अध्ययन गरी निर्माण गर्दा दुई वर्ष लागेको हो।’

मर्मतसँगै सडक फराकिलो पार्दै पर्खाल लगाइएको छ। अहिले सहज रूपमा दुईतर्फी सवारीसाधन सञ्चालन भइरहेको छ। विसं २०८० साउन २३ मा अविरल वर्षापछि पहिरोले करिब ५७० मिटर सडक भाँसिसकेको थियो।

पहिरोले एक सातासम्मसुदूरपश्चिमका डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला जिल्लासँगको सम्पर्क तोडेको थियो। यादवले थपे, ‘जमिनमुनिको पानीका कारण ठूलो भू-भाग नै भाँसिएकोले तत्कालै परामर्श सेवामार्फत अनुसन्धान गरी निष्कर्ष र सुझावको आधारमा मर्मत सुरु गरिएको हो।’

पहिलो चरणको मर्मतका लागि गत वैशाख २७ गते ‘जिएसआई हटैराज जेभी’ कम्पनीसँग रु ३ करोड ४७ लाखमा ठेक्का सम्झौता भएको थियो। यादवका अनुसार, ‘पहिरो नियन्त्रणका लागि भूमिगत पानी व्यवस्थापन गर्न पाँच वटा इनार निर्माण गरिएका छन्। उक्त पानी सङ्कलन गरी सुरक्षित रूपमा निकास दिई जमिन स्थिर राखिएको छ। इनार बनाउने, सब-सर्फेस ड्रेनेज गर्ने, सडक काटेर फराकिलो बनाउने र बायो-इन्जिनियरिङको काम सम्पन्न भइसकेको छ।’

सडक भाँसिएको ठाउँमा १० मिटर अग्लो मेकानिकल पर्खाल लगाएर सडकलाई बलियो बनाइएको छ। अब सडक स्थिर भएपछि एक वर्षपछि जमिनको अवस्था हेरेर कालोपत्रका लागि छुट्टै ठेक्का लगाइने कार्यालयले जनाएको छ। रासस

प्रकाशित: २६ भाद्र २०८२ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App