२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक र नाक वितरण गरेको छ।

 ‘हिमाली याकनाक प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत गाउँपालिकाले पशुपालक किसानलाई अनुदानमा याकनाक वितरण गरेको हो।

लाभग्राही पशुपालक व्यवसायी र गाउँपालिकाअन्तर्गत सङ्घीय ससर्त अनुदानमा ५०/५० प्रतिशत लागत साझेदारी रहनेगरी याक र नाक पालन गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए। उनका अनुसार पालिकाको रु सात लाख ५० हजार र पशुपालक किसानको रु सात लाख ५० लागतमा याक खरिद गरी वितरण गरिएको छ।

शनिबार जोमसोमका किसान पेम्बा गुरुङले अनुदान सहुलियतमा याक र नाक खरिद गरी ल्याएका छन्। गाउँपालिकाले अनुदानमा वितरण गरेको याक र नाक तथा बाछाबाछी मनाङबाट खरिद गरिएको अध्यक्ष लालचनले बताए। उनका अनुसार गाउँपालिकाद्वारा उपलब्ध बजेट दायराभन्दा थप रु आठ लाख मूल्य बराबरका याक र नाक किसान पेम्बा गुरुङले खरिद गरी मुस्ताङ ल्याएका हुन्।

किसानले ५६ भन्दा बढी याक र नाकसहित बाछाबाछी यहाँ पु¥याएका हुन्। गाउँपालिकाका अध्यक्ष लालचनले थोरै सङ्ख्यामा रहेका याक र नाक धेरै जनालाई अनुदानमा वितरण गर्दा लक्ष्यअनुसार याक प्रवर्द्धन गर्न अप्ठ्यारो पर्ने भएकाले छनोट समितिको मापदण्डभित्र रहेर एक जना किसानलाई अनुदानका याकनाक वितरण गरिएको उल्लेख गरे।

गाउँपालिकाका पशु शाखा अधिकृत आइत थकालीका अनुसार गाउँपालिकाद्वारा अनुदानमा वितरण गरिएका याक र नाक पाँच वर्षसम्म बिक्री गर्न नपाइने सम्झौता गरिएको बताए। यो व्यवसाय मात्र नभई हिमाली क्षेत्रको मौलिक संस्कृति भएकाले जैविक विविधता र पारिस्थितिक प्रणालीमा योगदान पु¥याउने उद्देश्यले गाउँपालिकाद्वारा याक र नाक वितरण गरिएको उनको भनाइ छ।

यसअघि घरपझोङ गाउँपालिकाले उक्त कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा याक र नाक वितरण गर्न ३५ दिने सूचना प्रकाशित गरेको थियो। गाउँपालिकाले प्रकाशित गरेको सूचनाअनुसार केही किसानले अनुदानका लागि निवेदन पेस गरेका थिए।

पशु शाखा अधिकृत थकालीका अनुसार जिल्लाको दररेटअनुसार मूल्य निर्धारण गरी रु १५ लाख मूल्यमा याक र नाक खरिद गरी ५० प्रतिशत अनुदान सहुलियतमा प्रदान गरिएको बताए। जिल्लाको ङिस्याङ गाउँपालिकास्थित याकखर्कबाट ३८ चाँैरी, तीन भाले याक र १५ वटा बाछाबाछी खरिद गरी जोमसोम ल्याइएको किसान गुरुङले बताए। गाउँपालिकाको अनुदानमा ३८ र १८ वटा व्यक्तिगत लगानीमा खरिद गरिएको उनले बताए।

गाउँपालिकाले आफूलाई विश्वास गरेर याक र नाक पालन गर्न अनुदान सहुलियत प्रदान गरेकामा खुसी व्यक्त गर्दै गुरुङले व्यावसायिक रूपमा याक र नाक पालन गरी प्रवर्द्धनमा योगदान पु¥याउने प्रतिबद्धता जनाए।

शनिबार यहाँ आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लालचन, कार्यपालिका सदस्य भिषण थकाली र पशु शाखा अधिकृत थकालीले संयुक्त रूपमा ती याक र नाक लाभग्राही किसानलाई हस्तान्तरण गर्नुभयो । ती याक र नाकको बिमा पनि गरिएको गाउँपालिका कार्यालयले जनाएको छ।

बिमा कम्पनीका प्रतिनिधि गणेश जिसीसहितको टोलीले किसान गुरुङका याक र नाक बिमामा दर्ता गराएका हुन्।उनले पशुधनको मूल्य बराबर पाँच प्रतिशत किसानले बिमा शुल्क तिर्नुपर्ने र बाँकी स्थानीय सरकारले शुल्क व्यहोर्ने गरी बिमा गराइएको बताए।

पछिल्लो समय हिमाली क्षेत्रको पुख्र्यौली पेसा याक र नाक पालन व्यवसाय सङ्कटमा पर्दै गएपछि पालिकाले सङ्घीय सरकारको ससर्त अनुदानमा याक र नाक प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न थालिएको हो। चालु आर्थिक वर्षमा यहाँको थासाङ गाउँपालिकाले पनि पशुपालक किसानलाई अनुदान सहुलियतमा याक र नाक वितरण गरेको थियो।

जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेक खर्क र पाटनमा गोठ स्थापना गरी पालन गरिएका याक र नाक चरन क्षेत्रको अभाव र जङ्गली वन्यजन्तुको जोखिमका कारण सङ्कटमा पर्न थालेका छन्। याक र नाक पालन व्यवसायको संरक्षण गर्न सरकारद्वारा बिमा सुरक्षा नीति ल्याइएको गाउँपालिका अध्यक्ष लालचनले उल्लेख गरे।

बिमामा आवद्ध याक र नाक पालक किसानको पशुधन क्षति भएमा बिमा कम्पनीबाट ९० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराइने बिमा प्रतिनिधि गणेश जिसीले बताए।

प्रकाशित: १४ असार २०८३ ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App