२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

देवघाटमा देखियो घडियाल गोही

गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि पछिल्ला वर्षमा दुर्लभ रूपमा देखिने गरेको थियो। मलामी जाने क्रममा स्थानीय उपेन्द्र पण्डितले देवघाटको गैँडाकोटतर्फको बगरमा घाम तापिरहेको घडियाल गोही देखेका थिए।

केहीदिन अघि स्थानीय बोटेले पनि नदी बगरमा गोही देखेका थिए। निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनास थापा मगरले घडियाल गोही बगेको सफा पानीमा बस्ने, माछा खाने प्राणीका रूपमा रहेको बताए। नदी र खोलामा भएको प्रदूषण, मानवीय अतिक्रमण र माछाको कमीले घडियाल हराउँदै गएका उनको बुझाइ छ।  

स्थानीय बोटे समुदायका अनुसार देवघाट र वरपरको क्षेत्रमा करिब ३५ वर्षयतादेखि घडियाल गोही देखिन छोडेको थियो। निकुञ्जका सूचना अधिकारी मगरले भने, 'यहाँका ज्येष्ठ नागरिकका भनाइअनुसार झण्डै ३५ वर्षयतादेखि देवघाट क्षेत्रमा घडियाल देखिएको थिएन। अहिले देखिएको गोही यहाँको रैथाने हो वा अन्यत्रबाट आएको हो अध्ययन गर्नुपर्ने छ।'

घडियाल संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसरामा प्रजनन केन्द्र रहेको छ। जहाँ राप्ती र नारायणी नदी किनारमा जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गरी यहाँ ल्याएर बच्चा हुर्काउने गरिन्छ। हुर्किएका बच्चालाई पुनः नदीहरूमा छाड्ने गरिएको छ। विगतमा कालीगण्डकीमा समेत हुर्किएका घडियाल गोही छाडिँदै आउने भए पनि संरक्षण हुन नसकेपछि निकुञ्ज आसपासका राप्ती र नारायणी नदीमा मात्रै छोड्ने गरिएको थापा मगरले बताए।  

पछिल्लो पटक गत पुसमा सार्वजनिक भएको गणना अनुसार राप्तीमा २३१ र नारायणीमा १३५ घडियाल गोही फेला परेका छन्। देवघाट क्षेत्रमा गोही नदेखिने भएकाले पछिल्ला वर्षहरूमा गणना हुन छाडेको मगरले बताए। देवघाटमा गोही देखिनुलाई महत्वका साथ हेरिएको भन्दै उनले यसबारे थप अध्ययन गरिने जानकारी दिए। रासस

प्रकाशित: २० फाल्गुन २०८२ १५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App