भ्रष्टाचारविरुद्ध ‘जेन जी’ पुस्ताले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। यस्तै, घाइते हुनेको संख्या १५० भन्दाबढि रहेको छ।
सोमबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकामध्ये ट्रमा सेन्टरमा सात, सिभिल अस्पतालमा तीन र काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा दुई र टिचिङ अस्पतालमा एक र अन्यगरि १५ जनाको मृत्यु पुष्टि भएको हो।
यसैगरि, सिभिल अस्पतालमा ५०, केएमसीमा १४, ट्रममा ४०, टिचिङमा १३, भेनसमा २ बयोदामा १ जनाको उपचार जारी छ। यसगरि ७ प्रहरी पनि घाइते भएका छन्। कयाैंको अवस्था चिन्ताजनक रहेको छ।
सोमबार बिहान ९ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन, दिउँसो प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि हिंसात्मक बनेको थियो।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो भने पछि गोली समेत चलाएको थियो।
घटनाले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दिउँसो साढे १२ बजेदेखि नै काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो। तर, कर्फ्यूका बाबजुद पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन रोकिएको छैन र अवस्था तनावग्रस्त छ।
हाल ट्रमा सेन्टर र सिभिल अस्पताल घाइतेहरूले भरिभराउ भएका छन्। घाइतेहरूको यकिन संख्या भने सार्वजनिक भइसकेको छैन।
प्रकाशित: २३ भाद्र २०८२ १७:०७ सोमबार





